चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो ।
त्यसैगरी सो मोर्चाले आफ्नो सङ्गठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच÷पाँच जनासम्म र प्रदेशमा तीन÷तीन तथा जिल्लामा दई÷दुई जना चारवटै पार्टीबाट समेटिनेगरी मोर्चा बनाइनेछ ।
यसैगरी समाजवादी मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्ने भएको पनि उपाध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “मोर्चाको नेतृत्व चार÷चार महिनामा परिवर्तन हुनेछ, साउन १२ गतेदेखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्नेछौँ ।” हालै गठन भएको सो मोर्चाको नेतृत्व हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्दै आउनु भएको छ । रासस