हुलाक बैंकमा रहेका खाता एवं बचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरु गरिएको छ । मन्त्रिपरिषद्को यही असार १२ गतेको निर्णयअनुसार आजदेखि हस्तान्तरणको प्रक्रिया सुरु गरिएको हो । यही असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक बचत खाताका कारोबार रोक्का रहने छ ।
सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत हुलाक बचत बैंकका खातालाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । देशभरिका जिल्ला सदरमुकाममा रहेका ६८ राष्ट्रिय वाणिज्य बैंकका शाखामा हुलाक वचत बैंकका खाता हस्तान्तरण गर्न थालिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकसँग यही असार २४ गते भएको सम्झौताअनुसार खाता हस्तान्तरण प्रक्रिया सुरु भएको हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा यही असार १२ गतेको मन्त्रिपरिषद् बैठकले हुलाक बचत बैंकमा रहेका बचतकर्ताका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी सरकारले हुलाक बचत बैंकको नाफा रकम नेपाल सरकारको सञ्चित कोषमा जम्मा गर्ने निर्णय पनि गरिसकेको छ । हुलाक बचत बैंकमा रकम हिनामिना कार्यमा संलग्न कर्मचारीलाई कानुनबमोजिम कारबाही गर्ने र हिनामिना भएको रकम संलग्न कर्मचारीबाट कानुनबमोजिम असुल उपर गर्ने निर्णय सरकारले गरिसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिनुुभयो । रासस