नेपालगञ्जकी ४३ वर्षीया बिन्दु चर्तीमगर बाँकेको एक सफल पुष्प व्यवसायीका रुपमा चिनिनुहुन्छ । उहाँको आफ्नै पुष्प व्यवसाय छ । नेपालगञ्जको चर्को गर्मीमा विगत आठ वर्षदेखि फ्रेस फ्लावरको व्यापार गर्ने उहाँ एक सफल पुष्प व्यापारी हुनुहुन्छ ।
बिन्दुले शुक्रबार सफल पुष्प व्यावसायीका रूपमा ‘इन्टरप्राइजिग ओमन अफ द इएर–२०२३’ अवार्ड प्राप्त गर्नुभयो । ‘द बिजनेस एज’ ले आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा बाँकेको पुष्प व्यवसायमा पु¥याएको योगदानको कदर गर्दै उहाँलाई रु ५१ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
पुष्प व्यावसायीसँगै बिन्दु समाजसेवी पनि हुुनुहुन्छ । सम्मानका लागि न्यू विजनेश उमेन नामक संस्थाबाट फोन आउँदा उहाँ एक स्थानीयवासीलाई सहयोग गर्न गाउँमा जानुभएको थियो । बिन्दुले भन्नुभयो,“म नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित मनिकापुरमा एक स्थानीयवासीको घर भत्किएकाले सहयोगका लागि त्यहाँ गएकी थिएँ । फोनमा न्यू विजनेश उमेनमा तपाईँको नाम आएको छ यसका लागि एउटा फारम भर्नुपर्छ भनियो र मैले ईमेलबाटै फारम भरेंँ । दुई हजार जनाले फारम भरेका रहेछन् । तीमध्ये सात जनामा पर्न म पनि सफल भएछु ।”
काम गरे त्यसको सकारात्मक प्रतिफल अवश्य पाइन्छ भन्ने भनाइ आफ्नो जीवनमा लागू भएको उहाँले बताउनुभयो । विसं २०३७ मा चितवनको नारायणघाट बेलचोकमा जन्मनु भएकी बिन्दुले सुरुमा १० कठ्ठा जमिनमा सयपत्री फूल उत्पादन गरेर व्यवसाय सुरु गर्नु भएको थियो । अहिले उहाँले दुई बिघा जमिनमा सयपत्री, मखमली, गोदावरी फूल उत्पादन गर्दै आउनुभएको छ । चर्ती फ्लोरामा पाँच कर्मचारी रहेका र मौसमी फूल हेरचाहका लागि १० देखि ११ कामदारले उत्पादनमा सहयोग गर्दै आएका छन् । रासस