पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कञ्चनपुर–कमला सडकमा नयाँ प्रविधिमा आधारित रहेर पुल निर्माण गरिने भएको छ । पुलको माथिल्लो भाग (बिम) निर्माणस्थलमा नबनाई प्रयोगशालामै बनाउने गरी नयाँ प्रविधिको प्रयोग गर्न लागिएको हो ।

नेपालमा समान्यतया पुल बनाउँदा त्यसको सबै भाग निर्माणस्थलमा नै बनाउने गरिएकामा नयाँ प्रविधिका रुपमा प्रयोगशालामा बनाएर ल्याएर जडान गर्न लागिएको कञ्चनपुर–कमला सडक योजनाले जनाएको छ । सो योजनाका लागि ऋण सम्झौता हुनु पहिले एसियाली विकास बैंकसँग प्राविधिक हस्तान्तरणका विषयमा छलफल भएको थियो । सोही आधारमा नयाँ प्रविधिको प्रयोग यो योजनामा गर्न लागिएको कञ्चनपुर–कमला सडक योजना पश्चिमका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।

यो सडकको पूर्वी र पश्चिम दुवै खण्डका सबै पुलमा यही प्रविधिबाट गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गुणस्तर र समय बचतका हिसाबले यस्ता पुलहरु हाम्रा लागि उपयोगी छन् ।” पुलको माथिल्लो भाग भारतमा बनाइएकामा कतिपय बनिसकेर ल्याइएको र कतिपय बनिरहेको उहाँले बताउनुभयो । नालाहरु बनिरहेको र त्यसलाई ल्याएर राखिने उहाँले बताउनुभयो ।

पुलमा प्रयोग गरिएको यो प्रविधिलाई ‘प्रि कास्ट ब्रिज’ भनिन्छ । निर्माणस्थलमा नै सबै निर्माणको काम गरिने प्रविधिलाई ‘कास्ट इन सिटु’ भन्ने गरिएको छ । रासस