जनसङ्ख्या वृद्धिदरको दृष्टिले रुपन्देही जिल्ला नेपालकै दोस्रो ठूलो जिल्लामा रहेको छ । सबैभन्दा बढी भक्तपुर जिल्लामा जनसङ्ख्या वृद्धिदर रहेको र त्यसपछि क्रमशः रुपन्देही, चितवन, बाँके र झापा रहेका छन् ।

तथ्याङ्क कार्यालय कपिलवस्तुले बुधबार भैरहवामा रुपन्देही जिल्लाको नतिजा सार्वजानिक गर्दै रुपन्देहीमा दुई दशमलव ३३ प्रतिशतले जनसङ्ख्या वृद्धि भएको जानकारी दिएको छ ।

तथ्याङ्क कार्यालयका प्रमुख नन्दलाल कुर्मीका अनुसार सबैभन्दा बढी भक्तपुर जिल्लामा तीन दशमलव ३५ प्रतिशत वार्षिक जनसङ्ख्या वृद्धिदर रहेको छ । भक्तपुरमा २०६८ सालमा जनसङ्ख्या तीन लाख चार हजार छ सय ५१ रहेकोमा २०७८ मा चार लाख ३२ हजार एक सय ३२ पुगेको छ ।

रुपन्देही जिल्लामा २०६८ सालमा जनसङ्ख्या आठ लाख ८० हजार एक सय ९६ जना रहेकोमा २०७८ सालमा ११ लाख २१ हजार नौ सय ५७ पुगेको ।

विसं २०७८ को जनगणनाअनुसार रुपन्देही जिल्लाको दश वर्षको सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर दुई दशमलव ३३ प्रतिशत देखिन्छ । विसं २०५८ देखि २०६८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर दुई दशमलव १७ प्रतिशत रहेको थियो ।

स्थानीय तहअनुसार सबैभन्दा बढी जनसङ्ख्या बुटवल उपमहानगर पालिकामा एक लाख ९४ हजार तीन सय ३५ (१७ दशमलव तीन प्रतिशत) र सबैभन्दा कम जनसङ्ख्या मर्चवारी गाउँपालिकामा ४० हजार आठ सय ८० (तीन दशमलव छ प्रतिशत) रहेको छ । यस्तै प्रतिवर्गकिलोमिटर जनघनत्व सबैभन्दा धेरै सिद्धार्थनगर नगर पालिकामा दुई हजार ६६ जना रहेको छ भने सबैभन्दा कम सैनामैना नगरपालिकामा चार सय ८३ जना रहेको छ ।

गत दश वर्षको अवधिमा सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ४९ दशमलव २६ प्रतिशतले र सबैभन्दा कम मर्चवारी गाउँपालिकामा पाँच दशमलव ४३ प्रतिशतले जनसङ्ख्या थप भएको छ  ।

जनगणनाको नतिजाअनुसार रुपन्देही जिल्लामा जम्मा दुई लाख २७ हजार तीन सय ५१ घर संरचना रहेका छन् । यीमध्ये ८१ प्रतिशत आवासीय घर रहेका छन् । रुपन्देहीमा चार दशमलव दुई प्रतिशत घर खाली रहेको तथ्याङ्कले देखाएको छ । जिल्लामा कूल दुई लाख ३८ हजार तीन सय २० परिवार रहेकोमा तीमध्ये ६६ दशमलव नौ प्रतिशत परिवारमूली पुरुष र बाँकी ३३ दशमलव एक प्रतिशत परिवारमूली महिला रहेको कुर्मीले बताउनुभयो ।

रुपन्देहीमा जनसङ्ख्याको पाँच वर्षको उमेर समूहअनुसार १५ देखि १९ वर्ष उमेर समूहमा कूल जनसङ्ख्याको सबैभन्दा बढी प्रतिशत (१० दशमलव छ प्रतिशत) रहेको छ । पुरुषको हकमा १५ देखि १९ वर्ष उमेर समूहमा कूल जनसङ्ख्याको सबैभन्दा धेरै पाँच दशमलव चार प्रतिशत र महिलातर्फ २० देखि २४ वर्ष उमेर समूहमा कूल जनसङ्ख्याको सबैभन्दा धेरै पाँच दशमलव तीन प्रतिशत व्यक्ति रहेका छन् ।रासस