स्याङ्जाको वालिङ नगरपालिकाका गरिब तथा विपन्न नागरिकलाई व्यावसायिक बनाउने उद्देश्यले पूर्ण अनुदानमा आधुनिक यन्त्र वितरण गरिएको छ । नगरपालिकाको प्रशासनिक भवन परिसरमा नगरपालिका–१ देखि १४ सम्मका स्थानीय परम्परागत पेसा व्यवसाय गर्दै आएका ७२ परिवारलाई काम गर्न सहज होस् भनेर त्यस्ता उपकरण वितरण गरिएको हो । नगरपालिकाले सामग्री खरिदका लागि रु आठ लाख विनियोजन गरेपछि नगरस्तरीय दलित उत्थान सञ्जालले सामग्री खरिद गरेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजप्रसाद शर्माले २८ थान सिलाइ मेसिन, २३ थान आरनका लागि पङ्खा, नौ सेट पञ्जेबाजा, छ थान जुत्ता सिलाउने सामग्री, पाँच परिवारलाई ४४ पाता आरन छाउने जस्तापाता वितरण गरिएको जानकारी दिनुभयो ।
उपकरण वितरण कार्यक्रममानगरपालिकाका उपप्रमुख कविता गैरेले सामग्रीहरूको उचित प्रयोग गर्दै भरपुर लाभ लिन सुझाव दिनुभयो । उहाँले व्यावसायिक बन्न चाहने हरेक नागरिकलाई नगरपालिकाले सहयोग गर्ने भन्दै योजना बनाएर नगरपालिकामा आउन आह्वान पनि गर्नुभयो । “नगरपालिकाभित्र सीप भएका तर यन्त्र उपकरणको अभावमा बेरोजगार बनेका विपन्न दलित नागरिकहरु समेत छन्, उहाँहरुको खोजी कार्य गरौँ”, उपप्रमुख गैरेले भन्नुभयो, “पैसाको अभावमा कसैले आफ्नो सीप दबाएर राख्न नपरोस्, नगरपालिकाको सम्पर्कमा आए हामीले सहयोग गर्नेछौँ ।”

नगरस्तरीय दलित उत्थान सञ्जालका अध्यक्ष जसबहादुर बरालले नगरपालिकाले विपन्न दलितलाई दिएको आधुनिक उपकरणले व्यवसाय विस्तारमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “परम्परागतरुपमा काम गर्दै आएका दलितहरुको समय र पैसा बचत गर्न यन्त्र उपकरणको महत्वपूर्ण भूमिका हुन्छ”, उहाँले भन्नुभयो, “आधुनिक उपकरणको अभावमा यहाँका दलितले निकै समस्या भोग्दै आएका थिए, अब भने सहज हुने भयो ।रासस