राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर कार्यालयका कर्मचारीलाई आज निर्देशन दिनुहुँदै अर्थमन्त्री महतले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न कर्तव्यनिष्ठ भएर काम गर्न भन्नुभएको हो ।

कर्मचारी कर्तव्यबाट पन्छिन नहुने बताउनुहुँदै अर्थमन्त्री महतले सेवाग्राहीमाझ सहजरुपमा प्रस्तुत हुन पनि निर्देशन दिनुभयो । “व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् । राम्रो काम गर्ने कर्मचारीलाई धन्यवाद भन्न चाहन्छु”, कर्मचारीलाई निर्देशन दिनुहुँदै अर्थमन्त्री डा महतले भन्नुभयो ।

अहिले लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताउनुहुँदै उहाँले अर्थतन्त्रलाई गति दिनका लागि पनि राजस्व बढाउन आवश्यक रहेको बताउनुभयो । “अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको स्रोत जुटाउने हो । राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने स्रोत जुटाउने जिम्मेवारीमा हामी छौँ । अहिले सङ्कलन भइरहेको राजस्वले पुगिरहेको छैन । यसलाई बढाउनुपर्ने आवश्यकता छ”, अर्थमन्त्री डा महतले भन्नुभयो, “तलब भत्ता, सामाजिक सुरक्षा र पुँजीगत खर्चको आवश्यकता राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौँ । यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौँ ।”

भन्सारमा आधारित राजस्व नीतिले अर्थतन्त्रलाई सुधार गर्न नसक्ने र सार्वजनिक ऋणको सही सदुपयोग गर्ने विषयमा सरकार स्पष्ट रहेकाले सोही नीतिअनुसार काम गर्न पनि उहाँले निर्देशन दिनुभएको छ । रासस