ललितपुर महानगरका– ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन् । ललितपुर महानगरभित्रका सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण सम्पन्न समेत भएको छ ।
भौगोलिक सूचना प्रणाली (जिआई एस) अधिकृत उत्तम काकीले महानगरपालिकाका २९ वटै वडाका ६० हजार नौ सय ८८ घरलाई सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गरिएको जानकारी गराउनुभयो । २०७४ सालमा सम्पन्न दोस्रो नगरसभाले सडक सञ्जाल तथा मेट्रिक ठेगाना प्रणाली अनुसार घर नम्बर वितरण गर्ने निर्णय गरेको थियो ।
अब ललितपुर महानगरमा तपाईंले भेट्न चाहेको व्यक्तिको घर नम्बर र सडकको नाम थाहा पाउनुभयो भने ललितपुर महानगरभित्रको घरमा तपाई सजिलै पुग्न सक्नु हुन्छ । “महानगरभित्र एकल बसोबास, संयुक्त आवास, व्यावसायिक भवन, कार्यालय तथा संस्था, मठमन्दिर लगायत सम्पूर्ण स्थायी तथा अस्थायी संरचनासहित ९१ हजार तीन सय ९९ संरचना तथ्याङ्कमा ‘रेकर्ड’ भएका छन् । हामीले स्थायी संरचना र बसोबास भएका घरलाई मात्रै घर नम्बर वितरण गरेका छौँ । अस्थायी संरचना रेकर्डमा मात्रै छन्,“अधिकृत कार्कीले भन्नुभयो ।
महानगरका २९ वडामध्ये सबैभन्दा बढी वडा नं १४ मा तीन हजार आठ सय ९३ घरमा रहेका छन् भने सबै भन्दा कम वडा नं १ मा एक हजार एक सय ३५ घर रहेका छन् । घर नम्बर वितरणसँगै महानगरभित्रका एक हजार दुई सय ८५ मुख्य सडकको नामाकरण गरेर मेट्रिक प्रणालीमा समावेश भएको उहाँले बताउनुभयो । महानगरभित्र सबै सडक तथा खण्ड सडकको सङ्ख्या नौ हजार नौ सय २० रहेको जनाइएको छ । रासस