कैलाली भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुग्नुभयो । आजसम्म उहाँको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुङ्गा चलाएरै बित्यो । जीवनभर कहिले नदीमा हाम फालेर, कहिले डुङ्गाबाट त कहिले काठे पुलबाट नदी तर्नुभएक भिक्कु पुल बनेपछि भने सन्तानले आफूले जस्तो दुःख भोग्नु नपर्नेमा खुसी हुनुहुन्छ ।

“कान्द्रामा पक्की पुल बन्ला र जोखिम मोलेर नदी पार गर्नुपर्ने दिन हट्लान भन्ने हामीले सोचेकै थिएनौँ”, भिक्कुले भन्नुभयो, “हेर्दाहेर्दै यसपटक पुल बन्यो, अब कसैले अकालमा ज्यान गुमाउनु नपर्ने भयो ।”

विगतमा पुल नहुँदा कान्द्रा नदी पार गर्ने क्रममा कैयनले अकालमै ज्यान गुमाएको उहाँले सुनाउनुभयो । प्रत्येक वर्खामा पानीको बहावसँगै दुर्घटनाको जोखिम पनि बढ्थ्यो । यद्यपि निर्माण सुरु भएको १२ वर्षमा भए पुल बनेकोमा भने स्थानीय निकै खुसी छन् । बर्खाको समयमा नदीमा पानीको बहाव बढ्दा वारपार गर्न निकै कठिन हुँदै आएको थियो । सामान्य कामका लागि पनि भजनी बजार पुग्नुपर्ने बाध्यतामा कान्द्रा नदी पार गर्नु कठीन हुने गरेको उहाँको अनुभव छ ।

“पुल बनेर कान्द्रको डुङ्गा विस्थापित होला भनेर सोचिएकै थिएन, लामो समयको पर्खाइपछि आज डुङ्गा विस्थापित भयो”, स्थानीय प्रकाश चौधरीले भन्नुभयो, “निर्माण सुरु भएपछि अलपत्र परेको पुल बन्ला भन्ने आशा पनि मरिसकेको थियो ।”

स्थानीय कविता देवकोटा पुल निर्माणसँगै सडक निर्माण पनि भइदिए स्थानीयलाई सहज हुन्थ्यो भन्नुभयो । “भजनी नगरपालिका वडा नं ५ र ७ का स्थानीयका लागि भजनी बजार आउजाउ गर्न नदी तर्नैपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “यसका लागि प्रत्येक पटक रु ४० खर्चनु पर्दथ्यो भने पैसा पनि जोगिने भयो र जोखिम पनि कम हुने भयो ।रासस