नेपालको कूटनीतिक इतिहासमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका प्रबुद्ध व्यक्तित्वको अनुभव एवं उहाँहरूले गर्नुभएका योगदान बारेको पुस्तक ‘चार कूटनीतिज्ञ’ विमोचन गरिएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउदले विमोचन गर्नुभएको हो । कार्यक्रममा मन्त्री साउदले पुस्तक कूटनीतिक क्षेत्रमा अभिरुचि राख्नेले पढ्नै पर्ने खालको भएको र कूटनीतिक क्षेत्रमा काम गर्नेहरुका लागि सन्दर्भ सामग्री हुने बताउनुभयो ।

कूटनीतिक इतिहासमा विशिष्ट योगदान गर्नुभएका चार कूटनीतिज्ञ (रामप्रसाद मानन्धर, शोभागजङ्ग थापा, पद्मबहादुर खत्री र झरेन्द्रनारायण सिंह)को कूटनीतिक जीवन र उहाँहरूको योगदानबारे विशेष खोजअनुसन्धान गरिएको पुस्तक पूर्वपरराष्ट्र सचिव डा मदनकुमार भट्टराईले लेख्नुभएको हो ।

सार्थकता र सान्दर्भिकताका दृष्टिबाट स्वाभिमानी, देशभक्त र कर्तव्यभावले अभिप्रेरित कूटनीतिज्ञको ऐतिहासिक अन्वेषण पुस्तकमा गरिएको छ । नेपालको कूटनीतिक सेवामा करिब चार दशक बिताउनु भएका पूर्वपरराष्ट्र सचिव एवं पूर्वराजदूत डा भट्टराई कूटनीतिक इतिहास र वर्तमानको खोज अनुसन्धानमा लागिपर्नुभएको छ ।

कार्यक्रममा पुस्तक बारेमा परराष्ट्र सचिव भरतराज पौड्याल, पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमुख्यसचिव लिलामणि पौड्याल, प्राडा मीना बैद्य मल्लले समीक्षा गर्नुभएको थियो । निमित्त कार्यकारी निर्देशक राजेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकका लेखक डा भट्टराईले पुस्तक लेखनका क्रममा भएका अनुभव सुनाउनुभएको थियो ।

चार वरिष्ठ कूटनीतिज्ञमध्ये रामप्रसाद मानन्धर र मेजर जनरल शोभागजङ्ग थापा सन् १९५१–५९ अवधिको राजनीतिक पृष्ठभूमिका सरकार र नेपालको परराष्ट्र नीतिको आधुनिक परिप्रेक्ष्यमा साङ्गठनिक रचनात्मक अवधिको सुरूआतको प्रतिनिधित्व गर्नुभएको पुस्तकमा उल्लेख छ । अन्य दुई परराष्ट्र सचिव मेजर जनरल पद्मबहादुर खत्री र झरेन्द्रनारायण सिंह राणाकालमा सेवामा प्रवेश गरे पनि उहाँहरु निर्दलीय व्यवस्थाको समयमा विशेष भूमिका निर्वाह गर्ने कूटनीतिज्ञ हुनुहुन्थ्यो । नेपालको परराष्ट्र सम्बन्धमा यी कूटनीतिज्ञबीच अनेकौँ समानता एवं असमानता देखिन्छन् ।

चारै कूटनीतिज्ञले राणाकाल र प्रजातन्त्रोत्तर कालको प्रशासनको सेतुका रुपमा नेपालको कूटनीतिलाई प्रतिनिधित्व गर्नुहुन्थ्यो । संयुक्त अधिराज्यको लन्डनस्थित राजदूतावासमा रहेको नेपालको पहिलो राजदूतावासमा चारै जनाले सेवा गर्नुभएको अनुभव थियो ।रासस