गण्डकी प्रदेशको राजधानी पोखरा र यसैसँग जोडिएको छ, लामाखेत र लामडाँडा । पोखरा महानगरभित्र पर्ने भए पनि यो ठाउँ आधारभूत सेवा सुविधाका दृष्टिले भने निकै विकट छ भन्दा फरक पर्दैन ।

कमजोर सडक संरचना र पहुँचमा जटिलताका कारण स्थानीयले महानगरबाट पाउने सामान्य सुविधा लिन कष्ट पाउने गरेका छन् । यहाँका स्थानीयलाई आफ्नै वडा कार्यालय पुग्न पनि साहस जुटाउनुपर्ने अवस्था छ । कारण, १३ किलोमिटर टाढाको वडा कार्यालयमा पुग्नै कम्तीमा २ घण्टा पैदल र कम्तीमा दुई पटक सार्वजनिक बस चढ्नुपर्छ ।

यहाँबाट वडा कार्यालयसम्म पुग्न ट्याक्सी सुविधा त छ तर त्यहाँसम्म जान र फर्कन मात्रै कम्तीमा रु ६ हजार खर्च हुन्छ । आर्थिक अवस्था कमजोर हुनेका लागि वडा कार्यालयमा निःशुल्क हुने कामका लागि पनि निकै महङ्गो पर्ने गरेको छ ।
जसबाट आर्थिक अवस्था कमजोर भएका अरुण र डिलमाया गुरुङ जस्तालाई वडा कार्यालयमा पुगेर सेवा लिन पनि बजेट जोहो गर्नुपर्ने अवस्था छ । यो दम्पतीका पाँच छोरी र एक छोरा गरी छ सन्तान छन् । जसमध्ये एक छोरीबाहेक सबै न्यून दृष्टियुक्त छन् ।

सरकारले यस्ता व्यक्तिलाई भत्ता दिन्छ भन्ने उहाँहरुलाई थाहा छ । तर त्यसका लागि सरकारी कार्यालयमा जन्म दर्ता गराउनुपर्छ । त्यसका लागि वडा कार्यालय पुग्नुपर्छ ।

आर्थिक अवस्था कमजोर भए पनि सरकारले दिने भत्ताका लागि उहाँले छिमेकी वडा नं १३ का चन्द्रबहादुर गुरुङको आर्थिक सहयोगमा जन्मदर्ता गराउन वडा कार्यालय पुग्दा ट्याक्सी भाडामा मात्रै रु छ हजार खर्च भयो । त्यति मात्रै होइन, दुई दिनको समय पनि बित्यो ।रासस