कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरे सुर्खेतमा आजदेखि ‘राष्ट्रिय कचहरी’सुरु भएको छ ।

‘राष्ट्रिय कचहरी’कोे उद्घाटन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले गर्नुभयो । सो अवसरमा मन्त्री शाहीले सङ्घीयता प्रणालीमा गइसकेपछि जनताका माग बढे पनि माग भने कम पूरा भएको बताउनुभयो ।

“जनताका माग र आवश्यकता पूरा गर्ने आश्वासन दिइयो”, उहाँले भन्नुभयो, “तर ती पूरा नहुँदा उनीहरूमा निराशा बढेको छ ।” सङ्घीय व्यवस्था राम्रो भए पनि त्यसको उचित व्यवस्थापन नहुँदा केही असन्तुष्टि उब्जेको भन्दै यसको सुदृढीकरण आवश्यक रहेको उहाँको भनाइ थियो ।

लुम्बिनी प्रदेशसभा सदस्य सञ्जु चौधरीले सङ्घीयता कार्यान्वयनमा आएको लामो समय भएपनि अपेक्षित प्रतिफल नदेखिएको टिप्पणी गर्नुभयो । यसका लागि तीन तहका सरकारको कार्यलाई समीक्षा गर्नुपर्ने उहाँको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बजेट बिनियोजन हुँदा पञ्चवर्षीय योजनाको सिद्धान्त, उद्देश्य र मार्गनिर्देशनअनुसार आउनेमा आशङ्का व्यक्त गर्नुभयो । उहाँले तीन तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्व कायम हुन नसकेको दाबी गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा अर्थविद डा पोषणराज पाण्डेले समावेशी विकास आजको आवश्यकता भएको बताउनुभयो । वैदेशिक रोजगारका लागि दैनिक औसत दुई हजार देश बाहिर जाने अवस्थाले मुलुकको कुल ग्राहस्थ्य उत्पादन असर परेको उहाँले टिप्पणी छ । रासस