कृषि, स्वास्थ्य, सडक र शिक्षालाई प्राथमिकता दिँदै बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
नगरसभा तथा गाउँसभाबाट यहाँका नौ स्थानीय तहहरुको रु चार अर्ब ७३ करोड एक लाख बराबरको बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकतामा राखेका छन् ।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड १७ लाख बराबरको बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेको बताउनुभयो । नगरको ढल निकास र स्वच्छ, सफा नगरपालिका सामाजिक विकास, सुशासनलगायतका क्षेत्रलाई बजेटमा समेटिएको छ ।
नगरपालिकाले पुँजीगततर्फ रु ११ करोड विनियोजन गरेको छ भने चालु खर्चतर्फ रु १३ करोड ४० लाख विनियोजन गरेको छ । यस्तै आर्थिक विकासतर्फ रु ७५ लाख विनियोजन गरेको नगरपालिकाले सामाजिक विकासतर्फ रु चार करोड ६० लाख र पूर्वाधार विकासतर्फ रु एक करोड ६६ लाख विनियोजन गरेको छ । नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ५० लाख विनियोजन गरेको छ ।
पुर्चौडी नगरपालिकाले रु ६४ करोड ५४ लाखको बजेट ल्याएको छ । पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ । उपप्रमुख मीना धानुकले सामाजिक विकास, पूर्वाधार, कृषि, शिक्षा स्वास्थ्यलाई र सुशासनलाई प्राथमकितामा राखेको बताउनुभयो ।
पुर्चौडीमा सामाजिक विकासतर्फ रु आठ करोड ५० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ५० लाख, सुशासन तथा संस्थागत विकासतर्फ रु नौ करोड, पूर्वाधार विकासतर्फ रु सात करोड र आर्थिक विकासतर्फ एक करोड विनियोजन गरिएको छ ।
यस्तै पाटन नगरपालिकाले रु ६३ करोड ५३ लाख बराबरको बजेट ल्याएको छ । बजेटमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेको नगर प्रमुख गौरिसिंह रावलले बताउनुभयो ।
दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले प्रस्तुत गर्नुभएको रु ५१ करोड ४४ लाखको बजेटमा स्वास्थ्य, कृषि र सुशासनलाई प्राथमिकतामा राखिएको छ । उहाँले भन्नुभयो, “कृषि क्षेत्रलाई उत्पादनको प्रमुख क्षेत्रको रुपमा विकास गर्दै ‘अध्यक्ष नमुना कृषि गाउँ’ कार्यक्रम, ‘एक टोल एक उत्पादन’मा जोड दिएर उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने र उत्कृष्ट कृषकलाई पुरुस्कार दिने, शीतभण्डार निर्माण, कृषि बिउबिजन तथा मल केन्द्र स्थापना गरिनेछ ।”
यसैगरी मेलौली नगरपालिकाले रु ४९ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिकाले रु ४२ करोड आठ लाखको बजेट ल्याएको छ । सिगास गाउँपालिकाले केही नयाँ कार्यक्रमसहित पुराना कार्यक्रमलाई निरन्तरता दिएर रु ४३ करोड ८२ लाखको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ रु ३३ करोड ८९ लाख र पुँजीगततर्फ रु नौ करोड ९३ लाख बजेट विनियोजन गरिएको अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि र सडकलाई मुख्य प्राथमिकता दिएर बजेट ल्याएका छौँ ।”
पञ्चेश्वर गाउँपालिकाले रु ३८ करोड ७४ लाखको बजेट ल्याएको छ । कृषि, स्वास्थ्य र बिजुलीलाई प्राथमिकतामा राख्दै बजेट गाउँसभामा पेश गरेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिनुभयो । शिवनाथ गाउँपालिकाले रु ३६ करोड ३४ लाखको बजेट ल्याएको छ । बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो ।
रासस