भौगोलिकरुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट आज पारित भएको छ ।
महानगरको १३ औँ नगरसभामा गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी वर्षका लागि रु सात अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । पोखराले चालु आवको भन्दा कम बजेट आगामी आवका लागि ल्याएको थियो । चालु आवको बजेट रु आठ अर्ब, ९९ करोड दुई लाख २९ हजार रहेकामा असार ८ गतेसम्म रु तीन अर्ब ८५ करोड ५५ लाख ८४ हजारमात्र खर्च भएको छ ।
उपप्रमुख गुरुङले नगरसभामा प्रस्तुत आगामी वर्षका आय व्यय विवरण तथा कार्यक्रम छलफलसहित पारित गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरसभा सदस्यबीच राम्रोसँग आवश्यक छलफल गरी आज बजेट पारित गरेका छौँ । आगामी वर्षको बजेटले समुन्नत पोखरा निर्माणमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।”
महानगरले निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकालमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै समुन्नत पर्यटकीय पोखराको दीर्घकालीन सोचलाई प्राप्त गर्ने गरी आगामी आवको बजेट ल्याइएको जनाएको छ ।
बजेटमा पर्यटन प्रवर्द्धन, दिगो पूर्वाधार विकास, वातावरण संरक्षण, सम्वर्द्धन तथा फोहोरमैला व्यवस्थापन, संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवर्द्धनलाई प्राथमिकतामा छ। रासस