धुञ्चेमा पहिलो पटक शल्यक्रियाबाट बच्चा जन्माइएको छ । बेथा लागेर पनि सहजरूपले बच्चा जन्माउन नसकेपछि उत्तरी रसुवास्थित आमा छोदिङ्मो गाउँपालिका–५ टेचाङ्ते निवासी एक महिलालाई जिल्ला अस्पतालले गएराति शल्यक्रियाबाट बच्चा निकालेको थियो । यो शल्यक्रियाले जिल्लामा पहिलो रेकर्ड कायम गरेको छ । सुत्केरीको नाम भने उल्लेख नगर्न अस्पतालले आग्रह गरेको छ ।

जिल्ला अस्पतालमा शल्यक्रियाका लागि ‘निक साइमन्स इन्स्टिच्युट’ नामक संस्थाले दक्ष चिकित्सकसहित केही महत्वपूर्ण उपकरणसमेत सहयोग उपलब्ध गराएको थियो । दाता एवं जिल्ला अस्पतालको अथक प्रयासबाट शल्यक्रियामार्फत बच्चा जन्माउन सफल भइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताउनुभयो ।‘निक साइमन्स’ले गरेको सहयोग रसुवावासीका लागि हितकारी भएको र यो सेवालाई निरन्तरता दिइने बताइएको छ । दक्ष चिकित्सकका साथै दुई स्टाफ नर्स, एक ल्याप टेक्निसन एवं एक रेडियो ग्राफरसमेत उक्त संस्थाले उपलव्ध गराउनाका साथै सहयोग पनि गरिरहेको छ । पन्ध्र शय्या क्षमताको उक्त अस्पतालमा निक साइमन्सले शल्यक्रियाका लागि नियमित एक दक्षचिकित्सक खटाएका कारण शल्यक्रिया गर्न सफल भएको बताइएको छ । सुत्केरी बेथाले छट्पटिएकी ती महिलालाई अस्पताल पु¥याउनासाथ तत्काल परीक्षण गरी चिकित्सक टोलीले शल्यक्रिया गर्नुपर्ने निचोड निकालेको थियो ।

डा रञ्जितराज पाठकसहितको चिकित्सक समूहले पूर्वतयारीको समय बाहेक ४५ मिनेटमा पेटको बच्चा निकालेकोे मेडिकल सुपरिटेन्डेन्ट शाहले जानकारी दिनुभयो । जन्मेका नवजात शिशुको तौल साडे तीन केजी रहेको र आमा तथा बच्चा दुवैको स्वस्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।

सुत्केरी हुने महिलाकी आमा डोल्मा तामाङले भन्नुभयो, “छोरीलाई दुई हप्ता अगाडि हल्का सुत्केरी बेथा लाग्दै गएको थियो । दिनदिनै शरिर असहज हुन थालेपछि जिल्ला अस्पताल पु¥याउँदा चिकित्सकले शल्यक्रिया गर्ने निर्णय गरे र अहिले आमा तथा बच्चा दुवैलाई राम्रो छ गरिबी जीवनमा निःशुल्करूप शल्यक्रियासहितको उपचारले ठूलो राहत मिलेको भन्दै चिकित्सक समूहलाई धन्यवादसमेत दिनुभयो ।

यसअघि प्रसूतिका लागि प्रमुख जिल्ला अधिकारीको सिफारिसमा काठमाडौँ ल्याउन सरकारले एयर एम्बुलेन्स ( हेलिकप्टर )उपलब्ध गराउने गरे पनि उपचार एवं शल्यक्रियाका लागि धेरै रकम लाग्ने गरेकामा अब सो समस्या अस्पतालले समाधान गरेपछि एयर एम्बुलेन्सका लागि खर्चहुने रकम राज्य कोषमै सुरक्षित रहने र अर्काे उपचारमा हुने व्यक्तिगत खर्चसमेत बचत हुँदा हिमाली ग्रामीण बासिन्दालाई ठूलो राहत मिलेको सुत्केरीकी आमा डोल्माले बताउनुभयो ।
सहजरूपले सुत्केरी हुन नसकेका महिलालाई स्थानीयस्तरमा गरिएको शल्यक्रिया यस हिमाली जिल्लाका ग्रामीण बासिन्दालाई हितकारी भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । विगतको तुलनामा यस अस्पतालको सेवामा निकै सुधार भइसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शाहको भनाइ थियोे । रासस