शुक्लाफाँटा नगरपालिका–८ नौखरी खत्री टोलका दश परिवार डेढ दशकदेखि खोलाको दूषित पानी पिउँदै आएका छन् ।
बस्तीमा नल्का गाडन नसक्दा खत्रीटोलका बासिन्दा गौँडी खोलाको बर्सातको धमिलो पानी पिउन बाध्य भएका हुन् । खोला छेउ सानो खाल्डो खनेर टोलका बासिन्दाले खानेपानीको जोहो गर्दै आएका छन् । वर्षौं पहिले दातृ निकायले टोलमा गाडेको नल्काबाट पानी आउन छाडेपछि खोलाको पानी पिउँदै आएको स्थानीय भक्तबहादुर खत्रीले बताउनुभयो ।
“टोलमा बसोबास गर्ने सबै परिवारको आर्थिक अवस्था नाजुक छ”, उहाँले भन्नुभयो, “मजदुरी गरेर चुलोमा आगो बल्ने गरेको छ, नल्का गाडने पैसा जुटाउन नसक्दा खोलाको पानी पिउनुपरेको छ”, “एक सय ५० फिटभन्दा तलसम्म नल्का गाड्नुपर्छ”, मोहन गौतमले भन्नुभयो, “त्यसका लागि रु एक लाखभन्दा बढी खर्च हुन्छ, नल्का गाड्ने आवश्यक रकमको जोहो मिलाउन सकेका छैनौँ ।”
विसं २०६५ देखि खानेपानीका लागि दातृदेखि सम्बन्धित सरकारी निकायसम्म गुहारे पनि खानेपानीको समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो । नयाँ संविधान जारी भएपछि पहिलोपटक स्थानीय तहको निर्वाचन हुन लाग्दा जनप्रतिनिधिले खानेपानीको समस्या समाधान गर्नेमा टोलका बासिन्दा ढुक्क थिए ।
“नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षका उम्मेदवारले चुनाव जितेपछि समस्या समाधान गर्ने निकै आश्वासन दिएकै हुन्”, दलबहादुर खत्रीले भन्नुभयो, “वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुनेमा आशावादी थियौँ, चुनाव सकियो, खानेपानीका लागि हेण्डपम्प गाड्नका लागि प्रस्तावसहित वडा कार्यालयदेखि नगरपालिकासम्म पटक–पटक पुग्यौँ सुनुवाइ भएन ।
दोस्रो पटक स्थानीय तहको चुनाव भएर जनप्रतिनिधि चुनिएर आए अझै पनि खानेपानीको समस्या पहिलाजस्तै रहेको उहाँले बताउनुभयो । दुर्गम बस्तीको पिछडिएको विपन्न परिवारको बसोबास भएको टोल भएकाले कुनै पनि निकायले नहेर्ने गरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ । खोलाको धमिलो पानी भाँडोमा थेग्राएर स्थानिय बासिन्दाले पिउँदै आएका छन । दूषित खोलाका पानी पिउँदा स्थानीय बासिन्दा झाडापखाला, आउँलगायतको पानीजन्य रोगबाट पीडित हुँदै आएका छन् ।
वडाध्यक्ष बहादुरसिंह महरा वडाको थोरै रकमले ‘हेण्डपम्प’ गाड्न नसकिने भएकाले नगरपालिकालाई समस्या समाधानका लागि पटकपटक आग्रह गर्दा सुनुवाइ नगरिएको बताउनुहुन्छ ।रासस