रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ ले यस वर्षको रोटरी जोर्नो अवार्ड राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारीसहित पाँच जना पत्रकारलाई प्रदान गरेको छ ।

नेपालमा परम्परागत चिकित्सा प्रणालीको रूपमा रहेको सेवा रिग्पा उपचार पद्दतिका बारेमा विभिन्न लेख रचना एवं पुस्तकसमेत प्रकाशन गर्नुभएका अधिकारीले स्वास्थ्य क्षेत्रमा पुर्याउनुभएको योगदानस्वरुप सो पुरस्कार आज प्रदान गरेको हो । पुरस्कारको राशि रु ५१ हजार र प्रशंसापत्र रहेको छ ।

पुरस्कृत अन्य पत्रकारमा शिक्षातर्फ प्रकृति अधिकारी, आर्थिक विकासतर्फ रुद्रबहादुर खड्का, महिला तथा सामुदायिक विकासमा रुपनी घर्तीमगर र युवा तथा नयाँ पुस्तामा अस्मिता रिजाल हुनुहुन्छ ।

उहाँहरूलाई रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गर्भनर जितेन्द्रराज राजभण्डारीले पुरस्कार प्रदान गर्नुभएको हो । पत्रकार वितरण समारोहमा डिस्ट्रिक गर्भनर राजभण्डारीले सन् २०१२ देखि पत्रकारिता क्षेत्रमार्फत सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको जानकारी दिनुभयो ।

पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठन र देशका एक सय ५४ रोटरी क्लबलाई समेत प्रत्यक्षरूपमा अवार्ड प्रक्रियामा सामेल हुन आग्रह गरिएअनुसार प्राप्त निवेदनअनुसार स्वतन्त्र मूल्याङ्कन समितिले पाँच जनालाई विभिन्न विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको समितिका अध्यक्ष सुरेश आचार्यले जानकारी दिनुभयो ।रासस