नेपाली कांग्रेसले पार्टी सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले आज शोक विज्ञप्ति जारी गरी सिन्धुपाल्चोकका निवर्तमान सभापति लामाको गए राति वीर अस्पतालमा उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।
स्व लामाको पार्थीव शरीरलाई श्रद्धाञ्जलिका लागि बौद्धको तीनचुलेस्थित ह्याल्मो गुम्बामा राखिने र भोलि बिहान ११ः०० बजे सोही गुम्बाबाट शवयात्रासहित काठमाडौँको जोरपाटीस्थित जम्बोडाँडामा अन्त्येष्टी गरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
विसं २०१६ असोजमा जन्मनुभएका लामा ब्लड क्यान्सरबाट पीडित हुनुभएको र केही समयअघि थाइल्यान्डमा उपचार गराएर नेपाल फर्कनुभएको थियो । स्व लामाले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
लामाको निधनले कांग्रेसले एक होनाहार सङ्गठनकर्तालाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।
लामाको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । “नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति लामाको निधनको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ, कांग्रेस सिन्धुपाल्चोकको नेतृत्वदायी भूमिकामा रहेर पार्टीको सङ्गठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा स्व लामाले पुर्याउनुभएको सक्रिय योगदानप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाले दिवङ्गत आत्माको चीर शान्तिको कामनासाथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।रासस