वर्षासँगै खसेको पहिराका कारण सिगास गाउँपालिका–८ स्थित लेक लुपुड माविको भवनमा क्षति पु¥याउनुका साथै उच्च जोखिममा परेको छ ।

आज बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवनमा क्षति पुगेको तथा उच्च जोखिममा रहेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालयका दुईवटा भवनका नौ कोठा रहेका र तीमध्ये पहिराले दुवै भवनका गरेर चार कोठामा क्षति गरेको छ, बाँकी रहेका भवन र विद्यार्थीको खाजा खाने चमेनागृह पनि जोखिममा छ ।”

चार कोठे नयाँ भवन सङ्घीय अनुदानमा रु ७२ लाखमा निर्माण भएको र उक्त भवन हस्तान्तरण नहुँदै पहिराले भत्किने सम्भावना रहेको उहाँको भनाइ छ । नयाँ भवन निर्माण कार्य सम्पन्न भएर पेन्टिङको काम भइरहेको छ भने गत वर्ष निर्माण भएको भवनमा पठनपाठन हुने गरेको थियो ।

गत वर्ष बनेको भवनको तलतिर र नयाँ भवनको माथिबाट पहिरो खसेपछि विद्यालय भवन उच्च जोखिममा परेका प्रधानाध्यापक धामीले बताउनुभयो । “दुवै भवनको बीचबाट पहिरो खसेको छ, तल्लो भवनको दुई कोठाको पछाडिको भित्ता भत्केर पहिरो भित्र पसेको छ, माथिल्लो भवन गत वर्ष मात्रै रु ७५ लाखमा सम्पन्न भएको थियो, त्यो भवनको मुनिबाट पहिरो खस्दा भवन उच्च जोखिममा छ, तल्लो चारकोठे भवन त हस्तान्तरण नहुँदै भत्किन थालेको छ”, उहाँले भन्नुभयो ।

पहिराले विद्यालयमा लाखौँ क्षति पु¥याउने सम्भावना बढ्नुका साथै वर्षात्को सुरुमै पहिरो खसेकाले वर्षा बढेमा भवन नै असुरक्षित हुनुपरेको विद्यालयले जनाएको छ । पहिराका कारण कक्षा सञ्चालनमै समस्या आउने प्राधानाध्यापक धामीले बताउनुभयो । कक्षा १२ सम्मको पढाइ हुने यो विद्यालयमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । रासस