झापाको भद्रपुर नगरपालिका–८ स्थित प्रादेशिक अस्पतालको नवनिर्मित भवन हस्तान्तरण भएको एक महिना नबित्दै चुहिन थालेको छ ।

निर्माण कार्य गुणस्तरहीन भएपछि भवन हस्तान्तरणको एक महिना नबित्दै छतबाट पानी चुहिन थालेको हो । भवनबाट पानी चुहिन थालेपछि भवनको विभिन्न स्थानका पर्खाल र छत रसाएका छन् । “छतको धेरै ठाउँ चर्केको छ”, नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी अध्यक्ष शिवराज भण्डारीले भन्नुभयो, “भर्खरै बनेको भवनको कोठाहरुमा पानी चुहिन थालेका छन् ।”

भवनको पर्खाल र भुइँबीच धेरै स्थानमा धाँजा फाटेको, भवनको पछाडि भुइँमा बिच्छ्याइएको इन्टरलक दबिएको, प्लम्बिङका पाइप कमसल र लापरबाही किसिमले लगाइएको, भुइँ तलाको केही स्थानमा सामान्य दबाब दिँदा भत्किने (बालुवा फुसफुस झर्ने), बरण्डामा परेको पानीभित्र पस्ने, भवनभित्र लगाइएको मार्बल अधिकांश चर्केको पाइएको भण्डारीले जानकारी दिनुभयो ।

नगरप्रमुख गणेश पोखरेलले भवन निर्माणमा कमजोरी भएको थाहा पाएपछि निर्माण कार्य रोक्न आग्रह गरेको बताउनुभयो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय झापाका सब डिभिजनल इन्जिनियरसँग छलफल गरेरमात्र काम अगाडि बढाइने उहाँले बताउनुभयो ।

“गुणस्तहीन कामलाई ढाकछोप गर्न रातारात आएर काम अघि बढाएको पाइएको छ”, उहाँले भन्नुभयो, “आजदेखि नगर प्रहरी परिचालन गरेर काम हुन दिँदैनौँ, सबै पक्षसँगको सहकार्यमा गुणस्तरीय काम हुन यकिन भएपछि मात्र अब काम अघि बढ्छ ।” युवा नागरिक समाज भद्रपुरका अध्यक्ष प्रेमप्रसाद खनालले भवन निर्माणमा कमजोरी भएको पाइएपछि सुरुदेखि नै खबरदारी गर्दै आएको बताउनुभयो । रासस