बागलुङ नगरपालिकामा जन्मेका छोरीहरुको सम्मान र आर्थिक भविष्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा नगरको छोरी कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र जन्मने छोरीको बैंक खाता खोलेर तत्कालै रु पाँच हजार जम्मा गरिदिने नीति लिएको छ । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले छोरीको जन्म भएपश्चात् छोरीको नाममा नगरपालिकाले रु पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा सम्भव हुने अभिभावकले समेत रकम थप गर्न पाउने गरी नगरको छोरी कार्यक्रम अगाडि बढाइने नीति तथा कार्यक्रम ल्याउनुभएको छ ।

नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीयरुपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेर नगरकी छोरी कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

“अबदेखि नगरपालिकाभित्र जन्मने सबै छोरीहरु नगरका छोरी कार्यक्रममा समावेश हुनेछन्, उनीहरुको बैंक खाता खोलेर रु पाँच हजार नगरले नै जम्मा गर्नेछ, अभिभावकले समेत उक्त खातामा इच्छाइएको रकम जम्मा गर्न सक्नेछन्”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “नगरको छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुनेछ, छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरितसमेत हुनेछन् ।”

हाम्रो समाजमा छोरी जन्मिएपश्चात् आमा र नवजात शिशुलाई गरिने दुव्र्यवहार, गर्भावस्थामा भ्रुणको जाँच, भु्रणहत्या र छोरीप्रतिको गलत दृिष्टकोणलाई चिदै नारी सम्मानका लागि नगरको छोरी कार्यक्रम ल्याइएको नगरपालिकाको भनाइ छ ।

नगरप्रमुख श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सुन्दर, समृद्ध, सुखी र खुसी बागलुङ नगरको परिकल्पना गरिएको छ । नगरपालिकाले कुकुर नियन्त्रण र नियामन गर्न ‘डग होस्टेल’ कार्यक्रमसमेत ल्याइएको छ । नीति तथा कार्यक्रममा आर्थिक विकासतर्फ कृषिलाई उद्यम, कृषकलाई उद्यमी, निःशुल्क कृषि परामर्श सेवा, गरौँ कृषि उत्पादन हातमा, प्रकोप परे बिमा छ साथमालगायतको नीति अवलम्बन गरिएको छ ।रासस