बालबालिकाहरुको अभिभावकीय हेरचाहसम्बन्धी त्रिदेशीय अनुभव आदानप्रदानका लागि नेपालसहित केन्या र डेनमार्कको बालअधिकारकर्मीहरुको समूहले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा भेटघाट तथा छलफल गरेका छन् । बालबालिकाहरुको क्षेत्रमा काम गरिरहेका तीन देशका प्रतिनिधि टोलीले १० दिने भ्रमणका क्रममा उक्त गाउँपालिकामा पुगेर सो छलफल गरेका हुन् ।
छलफलमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाले बालबालिकाको सर्वोत्तम हितका लागि निर्माण गरेको नीति तथा सम्पादन भएका कार्यबारे चर्चा गर्नुभएको थियो । उहाँले गाउँपालिकाले १० वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई छात्रावासमा नराख्ने नीति लिएको समेत बताउनुभयो । सन् २०२१ मा आएको मेलम्ची बाढी तथा कोभिड– १९ कारण विद्यालयहरु करिब दुई वर्ष बन्द हुँदा बालबालिकाको सिकाइ स्तर खस्किएको र यस चुनौतीलाई सम्बोधन गर्न गाउँपालिकाले बालबालिकाको संरक्षण र सहयोगका लागि विशेष ध्यान दिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
नेपाल सरकारले सामुदायिक विद्यालयमा कक्षा छसम्म दिवा खाजाको व्यवस्था गरेको छ तर त्यसलाई थप गरी कक्षा १२ सम्म निःशुल्क खाजा खुवाउनुपर्नेमा जोड दिँदै उहाँले अपाङ्गता भएका बालबालिकालाई घरमै बसेर पढ्न सक्ने गरी सामुदायिक स्रोत कक्षाहरुसमेत सञ्चालन गर्ने लक्ष्य लिइएको बताउनुभयो । गाउँपालिकाले गाउँमै कक्षा ११ देखि विज्ञान, सिभिल इन्जिनियर, होटल म्यानेजमेन्टजस्ता विषयमा पठनपाठन गर्न पाउने व्यवस्था मिलाउन लागेको र पढ्नकै लागि सहर जानुपर्ने अवस्था अन्त्य गराउन लागेको अध्यक्ष शेर्पाको भनाइ थियो । रासस