कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल जारी छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको तेह्रौँ बैठकमा पनि बजेटमाथिको छलफलमा दशजना प्रदेशसभा सदस्यले आफ्ना धारणा राख्नुभयो ।
छलफलको सुरुमा भाग लिँदै प्रदेशसभा सदस्य रणसिंह परियारले बजेटमा दलितहरुलाई साङ्केतिक ढङ्गले सम्बोधन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेटको बुँदा नम्बर ५० मा दलित, बोटे, राउटेलगायतका जाति र वर्ग आवश्यक रकम छुट्याउने भन्ने उल्लेख गरिएको छ । त्यो प्रक्रिया नै अमूर्त छ ।” अल्पसङ्ख्यक र सीमान्तकृत वर्गसँग दलितलाई मिसाउन नहुने भन्दै सदस्य परियारले बजेटमा स्पष्ट कुरा आउनुपर्नेमा जोड दिनुभयो ।
प्रदेशसभामा सदस्य जीतबहादुर मल्लले बजेट गोलमालमा आएकाले त्यसलाई परिस्कृत बनाउनुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य वीरबहादुर शाहीले डोल्पामा समानुपातिकरुपमा बजेट विनियोजन हुन नसकेको भन्दै आक्रोश पोख्नुभयो भने टेकराज पछाईले नीति तथा कार्यक्रमभन्दा भिन्न आएको भन्दै बजेट निर्माणमा योजनामन्त्रीलाई दबाब दिने व्यक्तिको नाम सार्वजनिक गर्न आग्रह गर्नुभयो ।
छलफलमा प्रदेशसभा सदस्य घनश्याम भण्डारी, कल्याणी खड्का, विजया बुढा, दक्षिणा शाही, लक्ष्मी सुनार, बलिमाया बुढाले समृद्ध कर्णाली निर्माणमा टेवा पुर्याउने बजेट ल्याउन सुझाव दिँदै प्रदेशसभामा आफ्ना धारणा राख्नुभएको थियो । सभाको अर्को बैठक बुधबार दिउँसो ३ बजे बस्ने सभामुख नन्दा गुरुङले जानकारी दिनुभयो । रासस