नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा जिल्लाकै ठूलो शीतभण्डार यही महिनाभित्रै सञ्चालनमा आउने गरी काम अघि बढेको छ । कावासोती–१४ अग्यौलीमा निर्माणाधीन तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डारको पहिलो चरणअन्तर्गत एक हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्न लागिएको हो ।

चालु आर्थिक वर्ष २०७९÷८० मा एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गर्ने गरी काम अघि बढेको रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडका अध्यक्ष नेत्र थनेतले जानकारी दिनुभयो । “यही असारभित्रै हामीले एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गर्ने गरी काम अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका युवाहरूको सक्रियता र लगानीमा चिस्यान केन्द्र निर्माणको काम तीव्रगतिमा अघि बढेको हो ।” वैदेशिक रोजगारीमा गएर स्वेदश फिर्ता भएका तीन सय २५ युवाहरूले शीतभण्डारमा लगानी गरेका छन् ।

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय पोखराको रु एक करोड ९२ लाख आर्थिक सहयोगमा शीतभण्डारको ‘स्टिल स्ट्रक्चर’ र प्यानल निर्माण भइरहेको अध्यक्ष थनेतले जानकारी दिनुभयो । निर्माणको सबै काम सकेर अबको केही दिनभित्रै एक हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र सञ्चालन गर्ने गरी काम अघि बढेको उहाँले बताउनुभयो । शीतभण्डारको निर्माणको काम सकाएर पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि अझै केही समय लाग्ने अध्यक्ष थनेतले जानकारी दिनुभयो ।रासस