रसुवा जिल्लाभित्र निर्माणाधीन सबै जलविद्युत् आयोजनाले हालसम्म गरेका कामको समीक्षा एवम् समन्वयात्मक छलफल सम्पन्न भएको छ ।
निर्माणाधीन जलविद्युत् आयोजनाको अवस्था, हालसम्मको कार्य प्रगति, निर्माण चरणका उत्पन्न समस्या र समाधानका लागि गर्नुपर्ने सहकार्य जस्ता विविध विषयमा छलफल भएको थियोे ।
जिल्ला समन्वय समिति रसुवाले आयोजना गरेको सो छलफलमा २२ मेघावाट चिलिमे, एक सय ११ मेगावाट रसुवागढी, ५७ मेगाबाट तल्लो र माथिल्लो सञ्जेन, १४.३ माथिल्लो मैलुङ, दुई सय १६ मेगावाट अपर त्रिशूलीवान, ६० मेगावाट माथिल्लो त्रिशूली थ्री–ए लगायतका दर्जनाँै जलविद्युत् आयोजनाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरेले बताउनुभयो ।
रसुवा जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनामा आइपर्ने समस्या समन्वयकारी हिसाबले समाधान गर्न जिल्ला समन्वय समिति तयार रहेकाले आयोजना निर्माणका क्रममा स्थानीय स्तरको समस्या स्थानीय स्तरमै मिलाउन सहजीकरण गर्दै आएको बताइएको छ ।
कार्यक्रममा भूमिगत संरचना निर्माणका लागि विस्फोटक पर्दाथको अभाव, बर्खायामको पहिराका कारण सडक मार्ग अवरुद्व हुँदा सामान ढुवानीमा असर पर्ने गरेको भए पनि क्रमिक रूपले आपूर्ति व्यवस्था मिलाई काम आगाडि बढिरहेको विद्युत् निर्माण गर्ने कम्पनीका प्रतिनिधिले बताएका थिए । रासस