कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित निर्माण भएको सभागृह (सिटीहल) प्रयोगविहीन बनेको छ । विसं २०७५ मा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन । तीन तले सुविधा सम्पन्न सभागृहमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनि छ । तर निर्माण सम्पन्न भएको पाँच वर्ष बित्दासमेत उक्त सभाहल सञ्चालनमा आउन सकेको छैन । सभाहल सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर निजी हल, होटेल प्रयोजन गर्नुपरेको स्थानीयवासीको गुनासो छ ।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिले आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह अहिले भीमदत्त नगरपालिका मातहत छ । तत्कालीन नगर विकास समिति अहिले भीमदत्त नगर विकास समिति बनेको छ ।

सभा हल सञ्चालनमा ल्याउने दायित्व भीमदत्त नगरपालिकाको भए पनि नगरपालिकाले सभाहल सञ्चालनमा ल्याउन सकेको छैन । भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले सभागृह जुन उद्देश्यले निर्माण गरिएको थियो सो उद्देश्य बमोजिम प्रयोगमा आउन नसकेको बताउनुभयो ।

“सभाहल सञ्चालन गर्ने दायित्व नगरपालिकाको भए पनि सञ्चालन गर्न सकिएको छैन ।” उहाँले भन्नुभयो–“विभिन्न समस्याका कारण नगर विकास समितिको बैठक नै नियमित बस्न सकेको छैन ।” हालसम्म नगरपालिकाले सभागृह सञ्चालनका लागी आवश्यक मापदण्ड नै तयार गर्न सकेको छैन ।
स्थानीय नरेश जोशीले राज्यको करोडाँै रकम खर्चेर निर्माण गरिएको सभागृह तत्काल सञ्चालनमा ल्याउनुपर्नेे बताउनुभयो । “सुविधा सम्पन्न सभाहल बनेर प्रयोग नआउनु नगरपालिकाको लज्जाको विषय पनि हो ।” उहाँले भन्नुभयो–“अहिलेको नेतृत्वले यथाशीघ्र उक्त सभागृह सञ्चालनमा ल्याउन जरुरी छ ।रासस