गैरकानुनी र अवैध रुपमा नेपाल भित्रिएर दर्ताविनै चलिरहेका मोबाइल फोनको बिक्री वितरण रोक्न सरकारले जेठ १ गतेदेखि लागू गरेको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टोम’ (एमडिएमएस) प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि नियामक र व्यवसायी एकमत देखिएका छन् ।
मोबाइल फोन इम्पोर्टस एशोसिएशन र नेपाल मोबाइल वितरक सङ्घले आज काठमाडौँमा एमडिएमएस कार्यान्वयनसम्बन्धी अन्तरक्रिया तथा पत्रकार सम्मेलन आयोजना गर्दै यो प्रणालीलाई कडाइका साथ लागू गरिनुपर्ने धारणा राखेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालमा मोबाइल सेटको अनधिकृत आयात र प्रयोगलाई रोक्न एमडिएमएस प्रणाली लागू गरिएको बताउनुभयो । यो प्रणालीले मोबाइल फोनको अवैध कारोबार तथा बिक्री वितरण रोकी राजश्व प्रणालीमा आबद्ध गराउने र यसले आपराधिक क्रियाकलाप न्यूनीकरणमा पनि सहयोग पुग्ने उहाँको भनाइ छ । मोबाइल हराउँदा वा चोरी भएको अवस्थामा गोप्य र संवेदनशील व्यक्तिगत सूचनामा तेस्रो व्यक्तिको पहुँच रोक्नका लागि पनि यो प्रणाली प्रभावकारी हुने उहाँको भनाइ छ ।
“मोबाइल हराउँदा वा चोरी हुँदा बैंक विवरणलगायत अन्य व्यक्तिगत सूचनाबारे गुनासो आउने गरेका थिए । एमडिएमएस प्रणालीबाट अब चोरीको फोन तत्काल ब्लक गर्न सकिने र संसारका जुनसुकै कुनामा नचल्ने बनाउन सकिन्छ ।” उहाँले भन्नुभयो । चोरी भएका, हराएका, भन्सार नतिरेर ल्याइएका मोबाइल नियन्त्रणका लागि एमडिएमएस लागू गरिएको उहाँको भनाइ छ ।रासस