अत्यधिक गर्मी बढिरहेका बेला यहाँको उत्तरी क्षेत्रमा खानेपानीको अत्यन्तै अभाव भएको छ । बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सय १५ भन्दाबढी बस्तीमा अहिले खानेपानीको अभाव भएको हो ।

धाराबाट पानी वितरण हुँदै आएका स्रोतको मुहान सुकेपछि बर्दिबासका १४ वटै वडाका बस्तीमा घरघरै जडान गरिएका धारामा पानी आउन छाडेको छ । धाराको टुटी खोल्दा पानी नझरेपछि बढ्दो गर्मीमा सर्वसाधारण छट्पटिएका छन् ।

“तीन÷चार दिन पहिलेसम्म त धारामा कुनैकुनै बेला पानी चुहेजस्तो गथ्र्यो, अब त पानी झर्न छाड्यो”, बर्दिबास–२ ओमशान्तिचोककी गृहिणी फूलमाया मगरले भन्नुभयो, “खै अब कसलाई गुहार्ने होला ?” कुनै बेला धारामा पानी आउने आशमा पछिल्ला तीन दिनयता घरका परिवारजन राति पालो गरेर सुत्ने गरेको फूलमायाले बताउनुभयो ।

बर्दिबासका वडा नं १, २, ३, ४, ५, १०, ११ र १४ का बस्तीमा खानेपानीको स्रोत नदी र खोल्सीबाट सङ्ग्रह गरिएको पानी भण्डारण गरेर धाराबाट वितरण गरिने रहेको छ । यस्तै वडा नं ६, ७ र ८ मा धारा तथा इनार दुवै स्रोत छन् । वडा नं ९, १२ र १३ मा भने इनारकै भर छ । धाराका लागि पानी सङ्ग्रह गरिने नदीका मुहान र खोल्सीमा गर्मी बढेसँगै पानी सुक्दै गएपछि धारामा पानी आउन छाडेको बर्दिबास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष शङ्कर फुयाँल बताउनुहुन्छ ।रासस