बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको निःशुल्क बीमा गरिने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले बुधबार राप्तीसोनारी गाउँपालिक–२ कचनापुरमा सिकलसेल एनिमियाका बिरामीको रिपोर्ट सार्वजनिकीकरणमा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले आगामी आर्थिक वर्ष २०८०÷८१ देखि गाउँपालिकाभित्र रहेका सबै सिकलसेलका बिरामीको पालिकाले निःशुल्क बीमा गर्ने नीति ल्याएको बताउनुभयो ।
सिकलसेल भएका बिरामीले जीवनभरी औषधि खानुपर्ने बाध्यता छ । कम आयस्रोत भएकालाई औषधि किन्न समेत अप्ठेरो भएकाले सो नीति अघि सारिएको गाउँपालिकाले जनाएको छ ।
“आगामी आवदेखि सिकलसेलका बिरामीलाई पालिकाले बीमा कार्यक्रममा समेट्छ, बीमाबापतको शुल्क पालिकाले तिर्छ”, उहाँले भन्नुभयो । राप्तीसोनारीका चार वटा वडामा नमूना परीक्षणमा ११ जना सिकलसेलका बिरामी फेला परेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो पटक वडा नं ६ कमैयाडाँडामा छ सय ३१ जनाको नमूना जाँच गर्दा दुई रोगी र ३६ जना बाहक फेला परेका छन् । वडा नं २ कचनापुरमा चार सय ८७ जनाको नमूना जाँच गर्दा तीन रोगी र ४४ जना बाहक फेला परेका छन् ।
गतवर्ष वडा नं ३ र ४ मा दुई हजार एक सय ९५ जनाको नमूना जाँच गर्दा ६ जना रोगी र दुई सय ९१ जना बाहक फेला परेका थिए । थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले विज्ञलाई वडास्तरमा पु¥याएर स्थानीयलाई सचेत बनाउने काम गरिरहेको छ ।रासस