२५ जेठ, काठमाडाैं ।
नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले आर्थिक वर्ष २०८०/८१ को बजेटले राष्ट्रको अठोट पूरा गर्ने लक्ष्य बोकको दाबी गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उहाँले बजेटको प्रभावकारी कार्यान्वयमा जोड दिनुभयो ।
उहाँले बजेटमा राज्यलाई अपरिहार्य नभएका २० समिति, संस्थान खारेज गर्ने वा गाभ्ने व्यवस्था कार्यान्वयन सहज नभएको र यसमा चुनौती रहेकाले सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसद घर्तीले प्रभावकारी नेता र मन्त्रीका निर्वाचन क्षेत्रमा बजेटले प्राथमिकता दिने पुरानै प्रवृति देखिएको टिप्पणी गर्नुभयो । साथै उहाँले मलुकको आवश्यकतालाई ध्यान दिई व्यावासायिक उत्पादनमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले किसानले समयमा मल बीउ नपाउने पुरानै अवस्था कायम हुनु दुर्भाग्य भएको बताउनुभयो । हालको प्रतिनिधिसभामा नयाँ र पुराना जनप्रतिनिधि रहेपनि यस थलोमा जीवन व्यवहार भने नयाँ हुन नसकेको उहाँको भनाइ थियो । घर्तीले सबै दलले जनतामा छाएको निराशा हटाइ आशा जगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । स्राेत रासस