२४ जेठ, काठमाडाैं ।
करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुनः सुमधुर बन्न लागेको हो ।
चिनियाँ मध्यस्थतामा तेहरान र रियादबीच भएको पछिल्लो सम्झौताअन्तर्गत वर्षौंदेखिको द्वन्द्व अन्त्य गर्न सहमत भएको केही महिनापछि मङ्गलबार साउदी अरबको राजधानी रियादमा इरानको दूतावास पुनः सञ्चालन भएको छ । सातवर्षको इरानी दूतावास रियादमा खुलेको हो ।
राजदूतावास उद्घाटन समारोहलाई रियादमा सम्बोधन गर्दै इरानका उपविदेशमन्त्री अलिरेजा बिग्देलीले साउदी अरब र इरानबीचको सम्बन्धका विविध आयामको चर्चा गर्नुभयो । उहाँले साउदी अरबमा इरानको झण्डा पुनः फहराएपछि दुई देशबीचको सहकार्य नयाँ युगमा प्रवेश गरेको बताउनुभयो ।
आपसी समझदारी, स्थायित्व र शान्तिका निम्ति राष्ट्र–राष्ट्रबीचको सञ्चार र संवादका लागि कूटनीति नै उत्तम माध्यम भएको उपविदेशमन्त्री बिग्देलीले बताउनुभयो । उहाँले असल छिमेकीको सिद्धान्तका आधारमा छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्न इरान सधैं इच्छुक रहेको बताउनुभयो । आर्थिक सम्बन्ध र आपसी लगानी प्रवद्र्धनले क्षेत्रीय शान्ति र स्थायित्व हासिल गर्न मद्दत पुग्ने तर्क उहाँले गर्नुभयो ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीका अनुसार जेद्दास्थित इरानको महावाणिज्य दूतावास र इस्लामिक सहयोग सङ्गठनको सम्पर्क कार्यालय पनि एक दिन पछि फेरि सञ्चालनमा आउनेछ । खाडी राष्ट्रका क्षेत्रीय प्रतिद्वन्द्वी इरान र साउदी अरब बीच गत मार्चमा आपसी सम्बन्ध पुनः स्थापना गर्न सहमत भएपछि मध्यपूर्वको स्थायित्व र सुरक्षामा देखिएको अनिश्चय हट्नाका साथै त्यसबाट यमनदेखि सिरियासम्म क्षेत्रीय द्वन्द्वलाई कम गर्न मद्दत मिलेको थियो ।
चीनको बेइजिङमा दुई देशबीच कूटनीतिक सम्बन्ध पुनः नवीकरण गर्न र आफ्ना दूतावास एवम् कूटनीतिक नियोग पुनः खोल्ने सम्झौता भएको थियो । चीन, साउदी अरब र इरानद्वारा संयुक्त रूपमा जारी गरिएको त्रिपक्षीय विज्ञप्तिअनुसार साउदी र इरानले संयुक्त राष्ट्र सङ्घको वडापत्रका सिद्धान्त र उद्देश्यहरूको पालना गर्दै वार्ता र कूटनीतिको माध्यमबाट आफ्ना असहमतिहरूलाई समाधान गर्न सहमति जनाएका थिए । स्राेत रासस