भोजपुरको षडानन्द १२–तुर्के पुल– साम्पाङ–फाली दोबाटो २० किलोमिटर सडक निर्माण ५० प्रतिशत सम्पन्न भएको छ । कालोपत्र गर्ने लक्ष्यका साथ कोशी प्रदेश सरकारको भ्याटसहित रु ५१ करोड ६२ लाख लागतमा सडक निर्माण थालिएको हो ।
पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत यो सडक कालोपत्र गर्ने उद्देश्यले २०७७ सालबाट निर्माण थालिएको हो । सडकको ‘स्ट्रकचर’ निर्माण ८० प्रतिशत सम्पन्न भएको छ भने सब बेस र बेसलगायतको काम भइरहेको छ । हालसम्म सडक निर्माणको भौतिक प्रगति ५० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
निर्माण भइरहेको सडकको पूर्वाधार विकास कार्यालयले स्थलगत अनुगमन गरेको छ । सडकलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउने गरी काम भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख राजेश्वर महतोले जानकारी दिनुभयो । “यो सडक निर्माणलाई तीव्र गतिमा अघि बढाएका छौँ”, प्रमुख महतोले भन्नुभयो, आगामी आर्थिक वर्षबाट कालोपत्र सुरु गर्ने लक्ष्य छ । गुणस्तरीय सडक निर्माणमा हामीले ध्यान दिएका छौँ ।”
दुई वर्ष सम्झौता अवधि भए पनि कोभिद तथा बर्सातका कारण सोचेअनुरुप प्रगति नभएपछि एक वर्ष म्याद गरिएको उहाँको भनाइ छ । सडकको निर्माण अवधि आगामी २०८१ वैशाख महिनासम्म रहेको प्रमुख महतोले जानकारी दिनुभयो ।
निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनी लामा, बानियाँ जेभीले जनाएको छ । सामान ढुवानीका लागि अरुण नदीमा पुल नहुँदा पनि समस्या रहेको कम्पनीका प्रतिनिधि उद्धव न्यौपानेले बताउनुभयो ।रासस