सिरहाको चोहर्वास्थित नेपाली सेनाको बहादुर श्री शेर गणले विश्व वातावारण दिवसका अवसरमा आज वृक्षरोपण तथा सरसफाइ गरेको छ । मिर्चैया नगरपालिका–९ मा अवस्थित रहेका ऐतिहासिक तथा पर्यटकीय महत्वको ‘कमल दह’ सरसफाइ र त्यस वरिपरि वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।
सेनाले आफ्नो नियमित सामाजिक कार्यअन्तर्गत वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको जनाएको छ । एक सय १५ सैनिक जवानको सहभागितामा करिब एक सय ५० बिरुवा पोखरीको वरिपरि रोपिएको गणपति तथा प्रमुख सेनानी विष्णु कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा मिचैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादव, ९ नं वडाअध्यक्ष दिनेशकुमार मण्डललगायत सर्वसाधरणको उपस्थिति रहेको थियो । कार्यक्रमा नगरप्रमुख श्रवणकुमार यादवले नेपाली सेनाले वातावरण र जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
यसअघि पनि सरसफाइ, धारा निर्माण, शौचालय निर्माणजस्ता सामाजिक कार्य गर्दै आएको गुल्मले यस्ता कार्य आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । “वातावरण दिवस पनि परेको र धार्मिक तथा पर्यटकीय महत्वको स्थानहरु संरक्षण गर्ने क्रममा नियमित कार्यअन्तर्गत यस कार्यक्रम आयोजना गरिएको हो”, प्रमुख सेनानी कार्कीले भन्नुभयो, “अघिल्लो वर्ष पनि हामीले यहाँ वृक्षरोपण गरेका थियौँ । यहाँ रोपिएका बिरुवाको रेखदेख र सुरक्षा स्थानीय समुदायसँग समन्वय गरी मिलेर संरक्षण गर्छौँ ।”
प्रमुख सेनानी विष्णु कार्कीका अनुसार सिरहा जिल्लामा नेपाली सेनाले आफ्नै स्रोतसाधन र जनशक्तिको प्रयोग गरी स्थानीय तहहरुको समन्वयमा पर्यटकीय क्षेत्र कर्जना नगरपालिकामा अवस्थित बाबाताल, मिर्चैया नगरपालिकाको कमलदह तथा धनगढीमाई नगरपालिकाको मदन भण्डारी पार्कको भौतिक संरचना निर्माण गरेको छ ।
त्यसैगरी, लहान नगरपानिकामा अवस्थित सहलेस फूलबारी जहाँ प्रत्येक नयाँ वर्षमा ठूलो मेला लाग्ने गर्दछ, उक्त क्षेत्रमा सहलेस फूलबारीको इतिहासलाई बोर्डमा उतार्ने, मन्दिर बनाउने, शौचालय बनाउने, खानेपानीका लागि ट्युवेल बनाउने जस्ता व्यवस्थापनका कार्य नेपाली सेनाले गरेकोे छ । यशबहादुर श्री शेर गणले एकताको भावना जागृत गर्ने तथा आफ्नो धर्म संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएको छ ।रासस