पश्चिम चितवनको मेघौलीको उच्च भाग विगत तीन वर्षअघिसम्म मरुभूमिजस्तै थियो । दिउँसोमा यहाँका बारीमा रुखो र फुस्रो धुलो उड्ने यस क्षेत्रका कृषकले हरियाली देख्न कि त निकुञ्ज जानुपथ्र्यो भने कि त बर्खानै कुर्नुपर्ने हुन्थ्यो । वर्षमा दुई खेती तोरी र तिल मात्रै लगाएर गुजारा गर्दै आएका भरतपुर महानगरपालिका–२७ बुद्धनगरका किसानहरु अहिले डिप ट्युबेलबाट सिँचाइ सुरु भएसँगै निकै उत्साहित भएका छन् ।
आर्थिक वर्ष २०७७–०७८ बाट जिल्लामा सञ्चालन गरिएको चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले काम गर्न थालेपछि भने यहाँका किसान हर्षित बनेका हुन् ।
डिप ट्युबेल जडानसँगै जनतामा खुसियाली छाएको छ । भरतपुर महानगरपालिका–२७ बुद्धनगरको नमूना कृषि तथा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष टीकाराम अधिकारी आफू विसं २०२२ देखि बसोबास गर्दै आएको भए पनि सिँचाइको समस्या समाधानका लागि यसअघि खासै कसैले ध्यान नदिएको बताउनुभयो । उहाँले विगत सम्झँदै भन्नुभयो, “बोरिङबाट पानी आउँदा हाम्रो आँखाबाट हर्षका आँसु झरेका थिए । अहिले हामी बाह्रै महिना सिँचाइको व्यवस्था भएसँगै विभिन्न बाली लगाउँदै आएका छौँ ।”
तीन वर्ष पहिला तोरी र तिल मात्रै खेती हुने भए पनि अहिले मौसमअनुसारको खेती र नगदे बालीतर्फ यहाँका कृषक केन्द्रित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले यस क्षेत्रमा सबै ठाउँमा सिँचाइको व्यवस्था छ । पहिला छाक टार्न समस्या हुने गरेको भए पनि अहिले एक सिजनमा मात्रै रु एक लाखसम्म कमाइ हुने गरेको छ ।”
अहिले सबैको बारीमा तरकारी र मकै देख्न सकिन्छ । स्थानीय गौरीमायाँ पौडेलले पहिले एक बिघा क्षेत्रफलमा काम गर्दा छाक टार्नसमेत कठिन हुने गरेको जनाउँदै अहिले भने त्यस्तो समस्या नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइको व्यवस्था भएसँगै हामीलाई त्यस्तो समस्या छैन ।” उहाँका अनुसार यस क्षेत्रका किसान बिघाँै बिघा क्षेत्रफल भाडामा लिएर खेती गर्द थालेका छन् । स्थानीय धर्मपुर डिप ट्युबेल उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर क्षेत्री अहिलेको सिजनमा मकै र घाँस बेचेर मात्रै करिब रु एक लाख हाराहारी कमाइ भएको जानकारी दिनुभयो । उहाँले पहिले खेती किसानीबाट घर चलउन नसकेपछि मेला मजदुरी गरेर घर छाक टार्ने गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “सिँचाइको व्यवस्था भएसँगै अब मैले पहिलाको काम छोडेर कृषि कर्ममा लागेको छु ।” यस क्षेत्रमा विदेशबाट फर्केकाले जग्गा भाडामा लिएर तरकारी र अन्य खेती गर्न थालेको उहाँले बताउनुभयो ।
सिँचाइको अभाव र अशिक्षाका कारणले समेत वैदेशिक यात्रामा जानुभएका नेत्रप्रसाद भूसाल अहिले बिहानदेखि बेलुकासम्म तरकारी बारीमा नै तल्लीन हुनुहुन्छ । उहाँ स्वदेश फर्कनुभएको चार वर्ष भयो । यहाँ सिँचाइको व्यवस्था भएपछि उहाँ पुनः विदेश जाने मनलाई परिवर्तन गर्दै जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको छ । उहाँका अनुसार यो क्षेत्र पहिला मरुभूमिजस्तै हो । अहिले सिँचाइको व्यवस्था भएसँगै हराभरा भएको छ । उहाँले भन्नुभयो, “अब विदेश जाने सोच परिवर्तन भइसक्यो । यही केही गर्ने हो ।”
यस क्षेत्रमा किसान बर्सातमा पर्ने आकाशे पानीको भरमा खेती गर्नुपर्दा पर्याप्त पानीको अभावमा दुःख पाएका थिए । सिँचाइका लागि पर्याप्त पानी नहुँदा गाई बाख्रा, कुखुरा पालेर जीविकोपार्जन गर्दै आएको टेलिटावर बोरिङका अध्यक्ष बलबहादुर गुरुङको भनाइ छ । आफूहरुले विसं २०५७ मा राप्ती नदीबाट पानी ल्याउनका लागि प्रयास गरेको भए पनि त्यो असफल भएपछि यस क्षेत्र आकासे पानीको भरमा मात्रै सिँचाइ गर्नुपरेको उहाँ बताउनुहुन्छ । राप्ती नदीबाट इनार खेर लिफ्टिङबाट पानी ल्याउने प्रयत्न गरे पनि पछि इनार बर्सातको समयमा पुरिएर त्यो योजना असफल भएको उहाँले बताउनुभयो । रासस