सिरियाका विपक्षीहरूले संयुक्त राष्ट्रसङ्घद्वारा प्रायोजित राष्ट्रपति बसर अल असदको प्रशासनसँग भएको तर निश्कर्षविशीन वार्ता पुनः सुरु गर्न आइतबार आग्रह गरेका छन् ।
’एक विशिष्ट कार्यसूची र समयतालिका अन्तर्गत अन्तर्राष्ट्रिय, क्षेत्रीय र सिरियाली परिस्थितिले प्रत्यक्ष वार्ता पुनः सुरु गर्न उपयुक्त परिस्थिति सिर्जना भएको छ,” सिरियाली वार्ता आयोग (एसएनसी) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सन् २०१८ मा सिरियाको सङ्कट समाधानका लागि भएको वार्तामा कुनै पनि राजनीतिक सङ्क्रमणमा असदको भूमिकालाई लिएर गतिरोध उत्पन्न भएको थियो र नयाँ संविधान निर्माण गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएका धेरै चरणको वार्ता असफल भएको थियो ।
मुख्य राजनीतिक विपक्षी गठबन्धन सिरियाली राष्ट्रिय गठबन्धनका प्रतिनिधिहरू सम्मिलित एसएनसी जेनेभामा अघिल्लो चरणको वार्तामा प्रमुख विपक्षी प्रतिनिधिमण्डलको रूपमा रहेको थियो ।
स्विट्जरल्याण्डको शहरमा दुई दिने बैठकपछि आइतबार एक वक्तव्य जारी गर्दै एसएनसीले ‘मित्र राष्ट्रहरूलाई विस्तृत राजनीतिक समाधानका लागि आवश्यक सबै प्रस्तावहरू लिन संयुक्त राष्ट्रसङ्घको प्रयासलाई समर्थन गर्न’ आह्वान गरेको छ ।
वक्तव्यमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव २२५४ अनुसार समाधानको माग गरिएको छ, जसले राजनीतिक सङ्क्रमणको रोडम्याप तय गरेको छ ।
असदले शान्तिपूर्ण सरकार विरोधी प्रदर्शनमाथि गरेको दमनले विदेशी शक्ति र विश्वव्यापी जिहादीहरूलाई तानेको घातक द्वन्द्वमा परिणत भएपछि सिरियामा १२ वर्ष लामो युद्ध सुरु भएको थियो ।रासस