२१ जेठ, काभ्रेपलाञ्चाेक ।
जिल्लास्थित नेपाली सेनाको कालीजङ गणले सामुदायिक विपद् प्रतिकार्यका लागि जनशक्ति तयार पारेको छ । काभ्रेपलाञ्चोकका १३ मध्ये १० स्थानीय तहमा चार दिने ८० विपद् प्रतिकार्य जनशक्ति तयार पारिएको हो ।
तालिममा ‘विपद्को परिचय र विपद् व्यवस्थापन चक्र, विपद् प्रतिकार्यका लागि आवश्यक सामग्री, सीप तथा कला, बाढीपहिरो, डुबान, आगलागी जस्ता विपद्का घटनाको दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय स्रोत-साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्ने विधि र विपद्को समयमा आधुनिक उपकरणको प्रयोगका बारेमा जानकारी गराइएको गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो ।
काभ्रेपलाञ्चोकका अधिकांश भू-भाग पहाडी क्षेत्र, जिल्ला भएर बग्ने तीन ठूला नदी विपद्को हिसाबले जोखिमयुक्त मानिन्छ । यस्तै वर्षायाममा पहिरोको जोखिम, पुराना घर, बजार क्षेत्रमा बाक्लो बस्ती तथा जङ्गल इलाका धेरै भएकाले हुनसक्ने आगलागीका घटना हुँदै आएको घटनाक्रमले देखाएको छ ।
विपदका घटनामा तत्काल उद्धारकर्मी पुग्न सम्भव नहुँदा कैयौँ मानिसको ज्यान जान सक्ने सम्भावनालाई न्यूनीकरण गर्न स्थानीयद्वारा नै प्रतिकार्य गर्नसक्ने क्षमताको विकास गर्न उक्त तालिमको आयोजना गरिएको सिंहले बताउनुभयो । उहाँका अनुसार विपद्का क्रममा उद्धारकर्मीको उपस्थितिबिना स्थानीयद्वारा ‘फस्ट रेस्पोन्डर’ का रुपमा स्थानीय युवाको क्षमता अभिवृद्धि गरिएको हो ।
यस्तै प्राथमिक उपचार तथा मेडिकलसम्बन्धी प्रशिक्षण र अभ्यास तथा शिक्षार्थीबाट ‘डेमोन्स्ट्रेशन’ गरिएको छ । यसअघि गणले गत वैशाख अन्तिम साता काभ्रेपलाञ्चोकस्थित सुनकोशी नदीमा विपद् प्रतिकार्य संयुक्त अभ्यास गरेको थियो । गणले ‘मनसुन–३’ नामकरण गर्दै अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको व्यक्तिको उद्धार प्रदर्शन गरेको हो ।
यस्तै मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप सुरक्षाकर्मी उद्धारको पूर्वाभ्यास गर्दै आएका थिए । जेठ पहिलो साता काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सशस्त्र प्रहरीद्वारा सुनकोशी नदीमा शुक्रबार उद्धारको पूर्वाभ्यास गरेका थिए भने नेपाली सेनाले गत वैशाख अन्तिम साता सोही स्थानमा सोही प्रकृतिको अभ्यास गरेको थियो ।
संयुक्त पूर्वाभ्यासमा सशस्त्र प्रहरी अधिकृत तथा जवानद्वारा बाढीमा बगेको, डुबेको, पहिरोमा फसेको तथा बाढीमै फसेका व्यक्तिलाई उद्धार गरिएको थियो । साथै, प्रहरी आफँैं उद्धारका क्रममा बाढीमा फसेको र आफैं जोगिन सफल भएकोसमेत प्रदर्शन गरिएको थियो ।
दुई जिल्ला विपद्को उच्च जोखिममा रहेकाले संयुक्त पूर्वाभ्यास गरिएको जनाइएको छ । यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्वतयारी अवस्थामा रहन काभ्रेका स्थानीय तहलाई निर्देशन दिइसकेको छ ।
समितिले बाढी, डुवान तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणार्थ सहजीकरण गर्न आग्रह गरेको हो ।
साथै, अत्यावश्यक खाद्य तथा गैरखाद्य सामग्री भण्डारण गर्ने, बाढीको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ–दाउरा सङ्कलन गर्नेजस्ता कार्यलाई निषेध गर्ने, महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भई उच्च जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिने, आपत्कालीन प्रतिकार्यका लागि सामग्रीसहित खोज तथा उद्धार कार्यमा तत्काल खट्न सक्नेगरी जिल्लास्थित सुरक्षा निकाय तयारी अवस्थामा राख्न आग्रह गरिएको छ । स्राेत रासस