तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ । समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ । यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दावी गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत बरादीदेखि साढे दुई किलोमिटर दूरीमा अवस्थित उक्त पुलले पछिल्लो समय पर्यटकलाई आकर्षित गरेकोे छ । सामाजिक सञ्जालदेखि टिकटकबाट उक्त पुलको प्रचार भएपछि यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दो छ । गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत विसं २०७७ मा उक्त पुल निर्माण गरिएको हो ।
‘डि’ टाइपको उक्त पुलको लम्बाइ दुई सय २० मिटर रहेको छ । उक्त पुलमा एकैपटक चार सय ७५ पदयात्री आवतजावत गर्न मिल्छ । बाबिरो÷प्रमिला जेभीले उक्त पुलको निर्माण गरेको हो ।
पुल पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेपछि गाउँपालिका यसको प्रवद्र्धनमा जुटेको छ । झोलुङ्गे पुललाई केन्द्रित गरेर गाउँपालिकाले पर्यटन विकासका योजना अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीलाई जानकारी भएसम्म नेपालको सबैभन्दा अग्लोमध्येको झोलुङ्गे पुल हो भन्ने छ, यो पुललाई केन्द्रित गरेर पर्यटनका योजना बनाउँदैछौँ ।” पर्यटन प्रवद्र्धनका निम्ति झोलुङ्गे पुलसम्म आउने बाटो स्तरोन्नति गर्न लागिएको अध्यक्ष चुमानले बताउनुभयो । साथै झोलुङ्गे पुलमा आधारित रहेर साहसिक खेल सञ्चालन गर्ने योजना बनाइएको चुमानले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँ बन्जी जम्प, जीप लाइन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर डिपीआर बनाउँदैछौँ, यो एउटा नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने निश्चित छ ।”
अध्यक्ष चुमानका अनुसार झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई लक्षित गरी नजिकै रहेको गुरुङ बस्ती गिरानचौरलाई पर्यटकीय गाउँ बनाउने काम भइरहेको छ । त्यसका लागि चालु आर्थिक वर्षमा रु ३० लाख बजेट विनियोजन भएको थियो । “राजमार्गबाट नजिकै रहेको झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई गुरुङबस्तीसम्म लैजान सकिए त्यहाँका स्थानीयवासीको जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “बिदा र शनिबारका दिन अन्य दिनभन्दा बढी पर्यटकको चहपहल हुन्छ ।रासस