टर्कीको राष्ट्रपति रेसेप तैयप एर्दोगानले तेस्रो कार्यकालका लागि शनिबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
टर्कीको आर्थिक सङ्कट चर्किरहेका बेला आफ्नो दुई दशक लामो शासन लम्ब्याउन एर्दोगान तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
उहाँले टर्कीको उन्नतिको लागि सबै देशबासीको मन जित्नेगरी निष्पक्ष रूपमा आफ्नो कर्तव्य पूरा गर्ने बताउनुभएको छ । उहाँले सपथ ग्रहणपछि पत्रकारसँग भन्नुभयो, “राष्ट्रपतिको रूपमा महान टर्की राष्ट्रको अगाडि म मेरो सम्मान र निष्ठाको कसम खान्छु । राज्यको अस्तित्व र स्वतन्त्रताको रक्षा गर्न मैले सबै शक्तिको साथ काम गर्न र निष्पक्ष रूपमा मेरो कर्तव्य पूरा गर्न लागि पर्नेछु ।”
संसदको उद्घाटनपछि राजधानी अङ्कारास्थित राष्ट्रपतिको कार्यालयमा विश्वका दर्जनौं नेताको सहभागिता भव्य समारोहबीच उहाँले पदबहाली गर्नुभएको हो ।
गत फेब्रुअरीमा गएको विनाशकारी भूकम्पका कारण ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको, कोभिड तथा युक्रेन युद्धका कारण व्याप्त वैश्विक आर्थिक सङ्कट र आक्रोशका बाबजुद एर्दोगानले शक्तिशाली विपक्षी गठबन्धनविरुद्ध मे २८ मा भएको निर्वाचनमा विजय हासिल गर्नुभएको थियो ।
एर्दोआनले ५२.१८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उहाँका धर्मनिरपेक्षवादी प्रतिद्वन्द्वी केमल किलिकडारोग्लुले ४७.८२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।
टर्कीका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेताले आफ्नो तेस्रो कार्यकालमा सुस्त अर्थतन्त्र र पश्चिमा मुलुकसँगको तनावलगायत महत्वपूर्ण तात्कालिक चुनौतीको सामना गर्नुपरेको छ । रासस