जुम्लाका धीराबहादुर बुढा र गणना भण्डारी नाताले मामाभाञ्जी हुनुहुन्छ । म्याराथनमा भविष्य बनाउन सङ्घर्षरत उहाँहरूका लागि आजको दिन सुखद् रह्यो । अन्नपूर्ण आधार शिविरबाट पर्यटकीय गाउँ घान्द्रुकसम्मको ‘अन्नपूर्ण म्याराथन’मा पुरुषतर्फको बुढाले र महिलातर्फको उपाधि भण्डारीले हात पार्नुभयो ।
अन्नपूर्ण आरोहण दिवसका अवसरमा आयोजित तेस्रो संस्करणको उक्त म्याराथन प्रतियोगिताबाट बुढा र भण्डारीले सफलताको अर्को सिँढी चढ्नुभयो । यसअघि अल्ट्रा म्याराथनमा भाग लिँदै आउनुभएका बुढाका लागि फुल म्याराथनको यो पहिलो अनुभव हो । नेपाली सेनाका अनुभवी धावकलाई पछाडि पार्दै उहाँ उपाधि जित्न सफल हुनुभएको हो ।
निर्धारित ४२ दशमलव १९५ किमि दूरी बुढाले चार घण्टा १० मिनेट ५१ सेकेण्डमा पार गर्नुभएको थियो । “देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने लक्ष्य छ, अब त्यसकै अभ्यासमा लाग्छु”, बुढाले भन्नुभयो, “खेलमा लागेर विदेश भौँतारिने अवस्था नआओस्, सरकारले पनि खेलाडीलाई हेरोस् भन्न चाहन्छु ।”
जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ की भण्डारीले मामा धीराबहादुरको साथ र हौसलाले आफू म्याराथनमा आएको बताउनुभयो । “मामाले जानुपर्छ, प्रतियोगितमा भाग लिनुपर्छ भनेपछि म यहाँ आएकी हुँ, आज धेरै खुसी छु”, उहाँले भन्नुभयो, “ज्यानकै बाजी मारेर कुद्नुपर्छ, तर सफलता हात लाग्दा त्यो सबै भुलिँदोरहेछ ।”
भण्डारीले पाँच घण्टा ४३ मिनेट दुई सेकेण्डमा दूरी पार गर्नुभएको थियो । ओरालो भूभाग भएकाले पहिलेको भन्दा यसपालिको म्याराथनमा केही गाह्रो भएको भण्डारीले सुनाउनुभयो । चार हजार एक सय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शनिबार बिहान ७ बजे म्याराथन सुरु भएको थियो । माछापुच्छ्रे आधार शिविर, बगर, देउलारी हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्दु्रकमा आएर म्याराथन सकिएको थियो । रासस