यहाँको शुक्लाफाँटा नगरपालिका–८ धारापानीका बासिन्दाले बाख्रापालन गरी जीविका चलाउँदै आएका छन् । परम्परागत रुपमा बाख्रापालन गरी स्थानीय बासिन्दाले घरायसी खर्च चलाउने गरेका छन् । बाइस परिवारको बसोबास रहेको धारापानीमा मुख्य आयको स्रोतका रुपमा बाख्रपालन रहेको छ ।
अधिकांश परिवारले १० देखि ५० वटासम्म बाख्रापालन गरेका छन् । बाख्रापालनबाट आएको रकमले घरायसी खर्च, बालबालिकाको विद्यालयको खर्च चलाउने गरेको बाख्रापालन गर्दै आएका जयलाल धामीले बताउनुभयो । केहीले बाख्राको आम्दानीबाट गाउँमै पसल थापेका भन्दै चुरे क्षेत्रको वनमा पर्याप्त चरन क्षेत्र भएकाले बाख्रापालन गर्न सहज भएको उहाँको भनाइ थियो ।
“गाउँमा बसोबास गर्दै आएका बासिन्दाको घरबासका लागि मात्रै जग्गा रहेको छ”, धामीले भन्नुभयो, “जीविका चलाउनका लागि बाख्रपालन गर्दै आएका छाँै, परिवारका एक जनाले दैनिक बाख्रा चराउन जाने र खोरमा ल्याएर बाध्ने कार्यमा व्यस्त हुनुपर्छ ।” उहाँका अनुसार खसीबोका पिकनिक मनाउन आउनेले समेत खरिद गरेर लैजाने गर्दछन् ।
अधिकांश खसी, बोका, बाख्रा काठमाडौँका व्यापारी गाउँमै पुगेर खरिद गरेर लैजाने गरेको मोहन सिंह धामीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक परिवारले वर्षमा रू एक लाखदेखि तीन लाखसम्म बाख्रा बेचेर आम्दानी लिने गरेका छन् ।
बाख्रा बिक्री गरेर आएको रू दुई लाख रकम खर्च गरी छोरालाई वैदेशिक रोजगारीमा पठाएको स्थानीय साइमले धामीले बताउनुभयो । “बाख्रा बेचेको पैसा खर्च गरी छोरालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाएको छु”, उहाँले भन्नुभयो, “छोराले मासिक रुपमा रू ७० हजार कमाउने गरेको छ ।रासस
