राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको याम्दी–हरिचोक सडक निर्माण सुरु भएको १० महिना हुँदा पनि निर्माण सम्पन्न भएको छैन । उक्त सडकखण्डमा कालोपत्र नहुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण स्थानीयलाई आवागमनमा समस्या भएको छ । धुलो र हिलोका कारण यात्रु र सवारी चालकले सास्ती भोग्दै आएका छन् ।

सडकको धुलोका कारण स्वास्थ्यमा समस्या परेको स्थानीय प्रतीक्षा पौडेलले बताउनुभयो । “यहाँ काम गर्न थालेको एक वर्ष हुन लाग्यो केही प्रगति भएको देखिएको छैन्”, उहाँले भन्नुभयो, “यही धुलोले होला छाती दुख्ने, मुख सुक्खा हुने अनि श्वास फेर्नै गाह्रो हुन्छ ।” धुलो कम गर्नका लागि एक पटक पानी हाले पनि दिनभर उही समस्या भोग्नुपर्ने उहाँको भनाइ थियो ।

पौडेलका अनुसार अस्तव्यस्त सडकका कारण दिनहुँ यहाँ सवारी दुर्घटनाको जोखिम बढेको छ । सडकको यो अवस्थाका कारण आफ्नो व्यापार पनि घटेको उहाँको गुनासो थियो । उहाँले बाटो साँघुरो भएकाले यस खण्डको जौबारी, सिम्पानी, हरिचोक क्षेत्रमा सवारी जामको समस्या पनि बढ्ेको बताउनुभयो ।

यस क्षेत्रका स्थानीयवासीसँगै यात्रु र चालक दिनहुँ धुलो, हिलोको समस्यामा भोग्न बाध्य छन् । दिनहुँ हुने यस्ता समस्या र गुनासो लिएर स्थानीय जिल्ला प्रशासन कार्यालयमा पुगेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहितको टोली बिहीबार उक्त सडकखण्डको अवलोकनका लागि पुग्नुभएको थियो । अनुगमन टोलीमा आयोजना प्रमुख कल्पना अधिकारी पनि सहभागी हुनुहुन्थ्यो । रासस