१९ जेठ, बागलुङ ।

परियार समुदायले बजाउँदै आएको परम्परागत पञ्चेबजा लोप हुन थालेपछि यहाँको मगर समुदायले संरक्षणका लागि प्रयास थालेको छ ।

बागलुङको बडिगाड गाउँपालिकाको दगातुम्डाँडाका मगर समुदायले पञ्चेबाजा संरक्षण गर्न लागेका हुन् । केही वर्षअघिसम्म यहाँ पञ्चेबाजा निकै लोकप्रिय थियो । परियार समुदायका पुराना व्यक्ति घटदै जाने र नयाँ पुस्ताले सीप नसिक्दा बाजा लोप हुने अवस्थामा पुगेकाले मगर समुदायले बाजा संरक्षणमा ध्यान दिएको हो ।

साविकको गदातुम्डाँडा गाविसभित्रका हरेक सार्वजनिक कार्यक्रमदेखि विवाह र विभिन्न धार्मिक कार्यमा पनि यहाँका बाजा लोकप्रिय थिए । बडिगाड गाउँपालिका–१ दगातुम्डाँडामा पञ्चेबाजाका लागि अन्य पञ्चेबाजा समूहजस्तै लोकबहादुर दर्जीको समूह पनि सक्रिय थियो । पञ्चेबाजाका नाइके लोकबहादुरको दुई वर्ष अगाडि मृत्यु भएपछि उक्त समूह नै निष्कृयजस्तै भएको छ ।

बाजा समूहका प्रमुख नै नभएपछि उक्त समूह नै गुमनामजस्तै भयो । युवा वैदेशिक रोजगारीमा गएका र वृद्धले बजा बजाउन नसक्ने भएपछि गाउँमा बाजा बजाउन जान्ने खासै कोही भएनन् ।

दलित र जनजाति समुदायको बसोबास रहेको बडिगाड–१ मा फेरि अहिले पञ्चेबाजा पहिलेजस्तै घन्किन थालेको छ । बडिगाड–१ तुम्डाँडाका यमबहादुर भुजेल मगरको नेतृत्वमा रहेको पञ्चेबाजा समूहले अहिले पञ्चेबाजा बजाउने गरेको छ ।

नैमती मगर बाजा समूह गठन गरेर उनीहरुले २०७९ असोज १ गतेदेखि बाजा बजाउन सुरु गरेका हुन् । समूहबाट सङ्कलित सहयोग रकमबाट रु दुई लाखको लागतमा बाजाको सेट खरिद गरेर बाजा बजाउन सुरु गरिएको नेतृत्वकर्ता मगरले बताउनुभयो । “बाजा बजाउन त जानेको हैन किनाँै, सिकौँ र बजाउ भनेर ऋण गरेर भए पनि रु दुई लाखमा बाजा किनियो अझै रु ३० हजार जति क्रण बाँकी छ”, उहाँले भन्नुभयो, “अझै पनि सिक्ने क्रममै चलिरहेको छ । बाजा बजाउन पनि हिँडिन्छ । रकम जम्मा गर्न कोष पनि खडा गरेका छौँ ।”

तुम्डाँडाको पञ्चेबाजको अर्को राम्रो पक्ष भनेको समूहमा ३५ देखि ५५ वर्ष उमेरका युवा छन् । उनीहरु विदेशमा दुःख गरेर नेपालमै केही गर्ने उद्देश्यले आएकाहरू भएकाले सो समूहले निरन्तरता दिन सक्ने स्थानीयवासीको भनाइ थियो । अहिलेसम्म आफूहरूले ज्याला तोकेर हिँड्ने नगरेको तर बोलाएका ठाउँमा रू आठ÷दश हजारमा नघटाई पाउने गरेको यमबहादुरले बताउनुभयो ।

“म आफैँ पनि २०५३ सालमा २७ वर्षको उमेरमा कतार गएको थिएँ । तीन महिनामा मेडिकल फेल भएपछि नेपाल आएर पनि धेरै काम गरे । अहिले पनि म २०६६ सालमा स्थापित हर्वल साबुन उद्योगको मालिक हुँ तर कला संस्कृतिको संरक्षण गर्ने हेतुले बाजा समूहमा पनि आबद्ध छु”, उहाँले भन्नुभयो ।

विशेषगरी बाजा समूहमा स्थानीयस्तरमै ज्यालामजदुरी गर्ने युवा भएकाले समूहलाई बाजा बजाउने सदस्य नपुग्ने समस्या छैन । बरु बाजा बजाएर आएको रकमबाट सामाजिक कामसमेत समूहले गर्ने गरेको छ ।

बाजा समूहका सदस्य तोरन मगरका अनुसार समूहका सदस्यले बाजा बजाउन जाँदा आउने रकम सबै कोषमा राख्ने र अलि कति मात्रै बाढ्ने गरेका छन् । अन्य रकम बाजा किन्दाको ऋण तिर्न र सामाजिक कामको लागि कोषमा राख्ने गरिएको छ ।
प्रायः तोरनजस्तै अन्य सदस्य ज्याला मजदुरीमै रमाउँछन् । स्राेत रासस