भारतको चारदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली आइपुग्नुभएका प्रधानमन्त्री दाहाल बुधबार पहिलो दिन विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुनुभयो ।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत भ्रमणमा आउनुभएका प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभएको थियो । सो क्रममा प्रधानमन्त्री दाहाललाई विभिन्न झाँकी र सांस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
प्रधानमन्त्री दाहालको स्वागतमा नयाँ दिल्लीका सडकसहित प्रमुख स्थलमा उहाँको तस्बिर अङ्कित स्वागतद्वार, ब्यानर र होर्डिङबोर्ड राखिएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल होटल मौर्यमा बसेको छ । उहाँ बसेको होटलमा पुगी बुधबार नै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा भारतीय विदेशसचिव विनयमोहन क्वात्रासमेत सहभागी हुनुहुन्थ्यो ।
भेटघाटलगत्तै प्रधानमन्त्री दाहाल नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभयो । सो अवसरमा उहाँले आफूले आजदेखि सुरु गरेको भारत भ्रमण दुई देशबीच सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताउनुभएको थियो । प्रधानमन्त्री दाहालले आपसी विश्वास तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रित रहने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच सदिऔँ पुरानो र जनस्तरकोे सम्बन्ध रहेको दोहोर्याउँदै यस भ्रमणपछि दुई देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भ्रमणको तेस्रो दिन अर्थात् शुक्रबार उहाँ मध्यप्रदेशको इन्दोर प्रस्थान गर्ने कार्यसूची छ । त्यहाँ मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्नुका साथै इन्दोरमा अध्ययन भ्रमणसमेत गर्नु हुनेछ । प्रधानमन्त्री दाहाल शनिबार अपराह्न ४ः२० बजे दिल्लीबाट काठमाडौँ फर्कने कार्यक्रम छ ।रासस
