ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।

गणतन्त्र दिवस, २०८० का सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालय परिसरमा राखिएका तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुहुदै उहाँले तस्बिरले जिल्लाजिल्लामा पारेको प्रभाव र सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो । तस्बिर अवलोकनपछि महानगरपालिकाका प्रमुख महर्जनले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म भ्रमण गरेजस्तो अनुभूति भएको रासससँग प्रतिक्रिया दिनुभयो ।

राससले सङ्ग्रहणीय तस्बिर प्रदर्शनीमा राखेको उल्लेख गर्नुहुँदै महानगरपालिकाका प्रमुख महर्जनले पाटनमा पनि यस्तै प्रदर्शनी गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्ता कार्यलाई राससले निरन्तरता दिनुपर्ने महानगरपालिकाका उहाँको सुझाव थियो ।

राससको सेवा प्रवाह प्रक्रियाको निरीक्षण गर्नुभएका महानगरप्रमुख महर्जनले राससले समाचार संस्थाका रुपमा सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानका बारेमा अन्य सञ्चारसम्बद्ध संस्थासँग तुलना हुन नसक्ने बताउनुभयो ।

अवलोकन भ्रमणका क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनी आयोजना गरिएको सन्दर्भमा जानकारी गराउनुभएको थियो । सो अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, प्रमुख समाचारदाता उत्तम सिल्वाल, प्रधानसम्पादक एकराज पाठक, आलेख सेवा प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो, लेखा प्रमुख रुद्रमणि अधिकारी, सेवाग्राही शाखा प्रमुख राजाराम कार्कीलगायत राससका पदाधिकारी एवं सञ्चारकर्मीले उहाँलाई स्वागत गर्नुभएको थियो ।

महानगरप्रमुख महर्जनले रासस केन्द्रीय कार्यालयको समाचार सङ्कलन कक्ष, नेपाली, अङ्ग्रेजी र अन्तरराष्ट्रिय शाखा एवम् तस्बिर सम्पादन शाखाको पनि अवलोकन गरी त्यहाँबाट हुने कार्यसम्पादनका विषयमा जानकारी लिनुभएको थियो । रासससँग सहकार्य गर्न सकिने विषयमा निकट भविष्यमै बैठक गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो । महर्जनसँगै काठमाडौँ महानगरपालिका–११ का वडाअध्यक्ष हीरालाल तण्डुकारले पनि तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।

राससबाट सम्प्रेषित मुलुकको धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश झल्काउने ७७ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ११ गते एक समारोहबीच उद्घाटन गर्नुभएको प्रदर्शनी सर्वसाधारण सबैका लागि खुला छ । तस्बिर प्रदर्शनीको बिहान ७ देखि साँझ ७ बजेसम्म अवलोकन गर्न सकिन्छ ।

विशेषगरी कला, संस्कृतिको क्षेत्रमा केन्द्रित भई सञ्चालित सो प्रदर्शनीमा पूर्वराष्ट्रपति, मुलुकका लब्धप्रतिष्ठित व्यक्तित्वसहित चित्रकला, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुचि राख्ने, आमसञ्चारकर्मी र सर्वसाधारण सहभागी भइरहनुभएको छ ।

मङ्गलबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि यही जेठ १४ गते सो प्रदर्शनी अवलोकन गर्दै गणतन्त्र दिवसको सन्दर्भमा धार्मिक तथा सांस्कृतिक सम्पदाको उजागर गर्न सहयोग पुग्ने सिर्जनशील कार्यक्रम आयोजना गरेकामा राससलाई धन्यवाद दिनुभएको थियो । आजै पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री सुरेन्द्रकुमार कार्कीले तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।

विशेषगरी विभिन्न चाडपर्व, जात्रा, मठमन्दिर, गुम्बा, चैत्यजस्ता मूर्त–अमूर्त संस्कृति एवम् सम्पदासम्बन्धी तस्बिरमा अवलोकनकर्ताको अभिरुचि देखिएको छ । राससले आफ्नो वार्षिकोत्सवका अवसरमा वर्षभर उत्कृष्ट एक सय तस्बिर समेटेर हरेक वर्ष फागुन ७ गते पनि केन्द्रीय कार्यालय परिसरमा तस्बिर प्रदर्शनी गर्दै आएको छ ।रासस