रसिदका भरमा दुःखले किनेको घरघडेरीको प्रमाण पुर्जा नपाउँदा ढालबहादुर मल्ललाई निकै पिरोल्थ्यो । हातमा जग्गाधनी प्रमाण पुर्जा नहुँदा किनबेच, बैंकबाट ऋण झिक्न नपाउँदा उहाँका धेरै योजना र इच्छा विलीन हुन पुगे ।

घरघडेरी किनेको करिब ३८ वर्षपछि हातमा पुर्जा पाउँदा उहाँ दङ्ग हुनुुहुन्छ । पाल्पा रामपुर नगरपालिका–६ स्थित कालीआँप निवासी मल्लले लामो समयको पखाइपश्चात् पुर्जा पाउँदा अब घरघडेरी किनबेच, पुर्जा राखेर बैंक तथा वित्तीय क्षेत्रबाट सहजै कारोबार गर्न सजिलो हुने बताउनुहुन्छ । “पुर्जा पाइन्छ कि भन्ने आशामा धेरै समय बिताइयो, बेला–बेलामा राजस्व तिरियो, तर पटक–पटक आयोग फेरबदल भई निर्णय परिवर्तन हुँदा जग्गाधनी पुर्जा पाइन्छ भन्ने आशा टुटेको थियो, ढिलै भए पनि अहिले पुर्जा पाउँदा असाध्यै खुसी छौँ”, उहाँले भन्नुभयो ।

मल्लले २०४२ सालमा रसिदको भरमा जग्गा लिनुभएको हो । उहाँले ९६.८० वर्ग किलोमिटर जग्गाको रु एक लाख ५२ हजार दुई सय बराबरको राजस्व बुझाउनु भएको छ । हातमा पुर्जा पाएपछि उहाँ अहिले ढुक्क हुनुहुन्छ ।

रामपुर–५ बेझाड बजार बस्ने शान्ति न्यौपानेले लामो समयसम्म पुर्जा पाउने चर्चा चल्ने तर प्रक्रिया सुरु नहँुदा अन्यौलमा रहेका बेला रामपुर नगरपालिकाको जोडबलमा घरजग्गाको पुर्जा पाउँदा आफ्नो जग्गा भन्ने ढुक्कको अनुभूति भएको बताउनुहुन्छ । उहाँले ५६.४३ वर्ग किलोमिटर जग्गाको रु एक लाख ४१ हजार नौ सय ८० बराबरको राजस्व बुझाउनु भएको छ । “घर भोगचलन गरिएको छ तर जग्गाधनी प्रमाण पुर्जा छैन, अहिले त पुर्जा भएपछि बल्ल आफ्नो हो भन्ने ढुक्कको महसुस भएको छ, पुर्जा नभएपछि किनबेच रोकियो, बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाइने धेरै समस्या झेल्नुप¥यो”, उहाँले भन्नुभयो ।रासस