म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेका प्रमुख दुई पर्यटकीयस्थल जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको काफलडाँडामा रहेको करपाकेलीबाट राम्चेको शिर आलडाँडा हुँदै समुद्री सतहबाट तीन हजार तीन सय मिटर उचाइमा रहेको मोहरेडाँडा जोड्ने पदमार्ग निर्माण सुरु भएको हो ।
अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले गण्डकी प्रदेश सरकारको सशर्त अनुदानमा उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गर्न लागिएको जानकारी दिनुभयो । “प्रदेश सरकारबाट प्राप्त रु ३० लाख बजेटबाट पदमार्ग बनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “जङ्गल, खोल्सा, भिर र साँघुरो ठाउँमा ढुङ्गाको सिँढी चिनेर पैदलमार्गका साथै दुईवटा विश्रामस्थल बनाउने योजना छ ।”
करवाकेलीबाट आलडाँडासम्म र आलडाँडाबाट मोहरेडाँडासम्म दुईवटा खण्ड बनाएर पदमार्ग निर्माणमा स्थानीय मजदुर परिचालन गरिएको छ । पर्यटकलाई आश्रयका लागि सम्धीखर्क र आलडाँडामा दुईवटा प्रतिक्षालय भवन निर्माण गरिने करवाकेली–मोहरेडाँडा पर्यटन पदमार्ग उपभोक्ता समितिका अध्यक्ष गमबहादुर पुर्जाले बताउनुभयो ।रासस