अनुसन्धानमूलक कानूनी शिक्षा अध्ययन–अध्यापन गराउने क्याम्पस काठमाडौँ स्कुल अफ लले दुई दिने भाषा, साहित्य तथा संस्कृति मेला २०८० आज सम्पन्न गरेको छ ।

‘नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनः काठमाडौँ स्कुल अफ लको समर्थन’ नाराका साथ कलेज परिसरमा आयोजित उक्त मेलामा विभिन्न १२ वटा विषयवस्तुमा गहन छलफल सत्र चलेको थियो ।

मेलाको पहिलो दिन नेपाली भाषा साहित्यको महत्त्व र वर्तमान अवस्था’ माथि प्राज्ञ अमर न्यौपाने, प्रा डा सुधा त्रिपाठी र प्रा गीता पाठक, ‘नेपालको अर्थतन्त्र कसरी सुध्रिएला ?’ मा अर्थविद् केशव आचार्य, अर्थविद् डा रघुवीर विष्ट र सहायक प्रा राजीव विष्ट र ‘आधुनिक युगमा नेपाली इतिहासको महत्त्व’ शीर्षकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्ती र दिनेशराज पन्तले विद्वतविचार राख्नुभएको थियो ।

त्यस्तै, ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र अपनाउनुपर्ने परराष्ट्र नीतिका विषयमा पूर्वराजदूतत्रय मोहनकृष्ण श्रेष्ठ, डा निरञ्जन बस्न्यात र पिवी शाह, ‘नेपाली सभ्यता’ को बहसमा प्रा डा माधव पोखरेल, प्राज्ञ राजन मुकारुङ र कैलाश राई र ‘परिवर्तन गर्नुपर्ने संस्कार कि सरकार ?’ शीर्षकको सत्रमा प्रा डा युवराज सङ्ग्रौला, डा खगेन्द्र प्रसाईं र डा इन्द्र अधिकारीले आ–आफ्नो विचार राख्नुभएको थियो ।

मेलाको दोस्रो दिन ‘न्यायपालिका कुन बाटोमा ?’ शीर्षकको सत्रमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, महान्यायाधिवक्ता डा दीनमणि पोखरेल र पूर्वन्यायाधीश गौरी ढकाल, ‘नेपाली संस्कृतिको महत्त्व र पाश्चात्य संस्कृतिको बढ्दो प्रभाव’ शीर्षकको सत्रमा संस्कृतिविद् डा जगमान गुरुङ र अमर गिरी (विद्यावारिधि), ‘फेकन्यूज र नेपालको पत्रकारिता’ सत्रमा वरिष्ठ पत्रकार युवराज घिमिरे, पत्रकार माधव बस्नेत र जगदीश खरेलले गहन प्रस्तुति राख्नुभएको थियो । रासस