सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बजेटमा चालु आर्थिक वर्षको भन्दा आगामी आवमा कम विनियोजन गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आव २०८०/८१ को बजेट वक्तव्यमा मन्त्रालयका लागि रु एक खर्ब ३१ अर्ब ५९ करोड विनियोजन गरिएको उल्लेख छ । जबकी चालु आवका लागि सरकारले भौतिक पूर्वाधारमा रु एक खर्ब ६१ अर्ब ५६ करोड बजेट विनियोजन गरिएको थियो । जुन रु ३० अर्ब कम हो ।
जसअनुसार पूर्वपश्चिम राजमार्गका लागि रु ३१ अर्ब दुई करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भई नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख गर्नुभएको छ ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आ २०८०÷८१ को बजेट तयार पारेको हो । सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आवमा एक सय ५० वटा पुल निर्माण सम्पन्न गर्ने भएकोे छ । पुल निर्माणका लागि रु दुई अर्ब आठ करोड विनियोजन गरिएको जनाइएको छ ।
सूर्यविनायक धुलिखेल सडकखण्डको विस्तारअघि बढाउन आवश्यक रकमसमेत सरकारले विनियोजन गरेको छ । काठमाडौँ चक्रपथको कलङ्की–वसुन्धरा खण्डको सडक विस्तार तथा निर्माणलाई तीव्रता दिन रु दुई अर्ब सात करोड व्यवस्था गरिएको छ । रासस
