नेपाल सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसख्ङ्यामा विद्युत्को पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत् र सौर्य तथा वायुजस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै एक वर्षभित्र नौ सय मेघावाट विद्युत् राष्ट्रिय प्रसारणमा थप गरिने बताउनुभयो । बजेटमा आयातित इन्धनको परिमाणलाई उल्लेख्यरूपमा घटाउने गरी प्रतिव्यक्ति विद्युत् खपत वृद्धि गरी चार सय ५० किलोवाट घण्टा पुर्‍याइने बताइएको छ ।

नेपाल विद्युत् प्राधिकरणबाट प्रबन्धित १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२ दशमलव ५ मेगावाटको सान्जेन तथा निजी लगानीकर्ताबाट प्रवर्द्धित जलविद्युत् र सोलार आयोजना सम्पन्न गरी आगामी आवमा करिब नौ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप गरिने बजेटमा छ । आगामी आवको अन्त्यसम्म कूल विद्युत् उत्पादन तीन हजार छ सय मेगावाट पुग्ने बताइएकोे छ ।

रणनीतिक महत्व रहेको पश्चिम सेती जलविद्युत् परियोजना, सेती रिभर ६, तल्लो अरुणलगायतका जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता गरी निर्माण कार्य अघि बढाइ अर्थमन्त्री महतले बताउनुभयो ।

बजेटमा सुक्खायामको विद्युत् माग सम्बोधन गर्न र जलविद्युत् निर्यात गर्न एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी र छ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी तय गरी निर्माण कार्य अघि बढाइने उल्लेख छ ।रासस