सरकारले आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा ऊर्जा क्षेत्रलाई पुनः परिभाषित गर्दै महत्वका साथ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले केही ठूला आयोजनाको निर्माण सुरु गर्ने र प्रसारण लाइन निर्माणलाई पनि उत्तिकै महत्व दिएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने विषयलाई स्पष्टसँग सरकारले आफ्नो बजेटमा उल्लेख गरेको छ । आगामी आवको बजेटमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत बूढीगण्डकी जलविद्युत् परियोजनाका सम्बन्धमा रहेको अन्यौलतासमेत हटेको छ । सो आयोजना निर्माणका लागि सरकारले यसअघि नै कम्पनी स्थापना गरिसकेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आज प्रस्तुत गर्नुभएको आगामी आवको बजेटअनुसार रणनीतिक महत्वका आयोजनामा रुपमा रहेका पश्चिम सेती, सेती रिभर, तल्लो अरुणको निर्माण सुरु गरिनेछ । सुक्खायामको बिजुली व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको बूढीगण्डकी र दूधकोशी जलाशययुक्त आयोजनाको निर्माण सुरु गर्ने विषयलाई बजेटमा समावेश गरिएको छ ।
यस्तै, सङ्घीय, प्रदेश र स्थानीय सरकारको समेत लगानीमा एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुणका साथै चैनपुर सेती, जगदुल्ला, तामाकोशी पाँचौँ, सिम्बुवा खोला र घुन्सा खोला जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने विषयलाई बजेटले महत्व दिएको छ ।
त्यसैगरी सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा बिजुली पुर्याउने कार्यक्रमलाई निरन्तरता दिएको छ । केन्द्रीय प्रसारण लाइन पुग्न नसक्ने स्थानमा लघु तथा साना जलविद्युत् आयोजना र सौर्य परियोजनामार्फत बिजुली पु¥याउने सरकारको लक्ष्य छ । आयातित इन्धनको प्रयोग कम गर्न सरकारले प्रतिव्यक्ति विद्युत् खपत चार सय ५० किलोवाट घण्टा पु¥याउने लक्ष्य लिएको छ । रासस